• १३ साउन २०८१, आइतबार

बिक्री हुन छाडेपछि भैसीलाई खुवाउँदै भिण्डी

blog

जानु पाण्डे
कपिलवस्तु, जेठ ११ गते ।
कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि भैँसीलाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नपाएपछि कृषकले बजारमा बिक्री गर्नुको साटो पशु चौपायालाई खुवाउन सुरु गरेका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका तरकारी उत्पादक कृषक महेन्द्र केवटले आफूले लगाएको भिण्डी बिक्री नभएपछि भैँसीलाई  खुवाएको बताउनुभयो ।

विगत डेढ दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका केवटले एक सातादेखि घरमा पालेको भैँसीलाई भिण्डी खुवाउँदै आउनुभएको छ । करिब एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका केवट यो मौसममा भिण्डी, घिराैंला, खुर्सानी, काँक्रो, बोडीलगायत तरकारी उत्पादन गर्नुभएको छ । स्नातक पास गरेका केवट परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले तरकारी खेतीमा आकर्षित भएका थिए ।

भारतीय सीमावर्ती क्षेत्रमा उत्पादन भएका तरकारी सस्तो मूल्यमा आयात हुन लागेपछि  आफूले उत्पादन गरेको तरकारी बजारमा मूल्य नपाउँदा स्थानीयले दुःखेसो पोखेका छन् ।

‘‘कृषकसँग प्रतिकिलो पाँच रुपियाँको दरले खरीद हुने गरेको छ । स्थानीय उत्पादन धेरै खपत हुने भनेको हाटबजार हो । भारतीय उत्पादनसँग पनि भिड्नु परेपछि निकै सस्तो मूल्यमा भिण्डी बिक्री गर्नुपरेको छ । भिण्डी टिप्दाको श्रमको मूल्य समेत उठाउन सकिँदैन ।’’ बुद्धभूमि १० का तरकारी उत्पादक कृषक कृष्णमोहन केवट बताउनुहुन्छ ।

कृषकहरुले कृषि उत्पादन हाट बजारमा बिक्री गर्न लैजाने र बिक्री नभएपछि पशु चौपायालाई आहाराको रुपमा प्रयोग गर्दै आएका छन् । भारतीय उत्पादनलाई निरुत्साहन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरी दिन तरकारी उत्पादक कृषकहरुले सरकारसँग गुनासो गरेका छन् ।