रोल्पा, मङ्सिर ५ गते। आमाबुबाको स्मृतिमा स्थापित अक्षयकोषबाट ५१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
रोल्पाको नुवागाउँस्थित अरनिको माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५१ विद्यार्थीलाई एक लाख रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा अक्षयकोष स्थापनाकर्ताहरू जीवराज बुढा मगर र अमृतबहादुर बुढामगर, विद्यालयका संस्थापक प्रधानाध्यापक कुलानन्द गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज बुढा, प्रधानाध्यापक गणेशकुमार घर्ती मगर लगायतले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।
त्रिवेणी गाउँपालिका-२ नुवागाउँ, रोल्पामा जन्मेर अमेरिकाको टेक्सासमा बसोबास गर्दै आउनुभएका जीवराज बुढा मगर, श्रीमती याशिका बाँठा मगर र रोल्पा नुवागाउँ घर भई दाङको घोराहीमा बसोबास गर्दै आउनुभएका अमृत बुढा मगर र दीपा बुढा मगरले आफ्नो आमाबुवा र सासूससुरा र काका तथा काका ससुराको स्मृतिमा आफूले अध्ययन गरेको नुवागाउँस्थित अरनिको माध्यमिक विद्यालयमा पाँच लाख एक हजार १५१ रुपियाँको इन्द्र-मै-दल अक्षयकोष स्थापना गर्नु भएको छ।
सोही अक्षयकोषको प्राप्त ब्याजबाट विद्यालयका कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक गणेश घर्ती मगरले इन्द्र-मै-दल अक्षयकोषमार्फत यस वर्ष ५१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका दाताहरूप्रति आभार प्रकट गर्नुभयो ।
छात्रवृत्तिले विद्यार्थीहरूलाई प्रेरणा, हौसला र अवसर प्रदान गर्ने कार्य गरेको भन्दै उक्त कार्यका लागि दाता परिवारलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
अक्षयकोष दातामध्ये जीवराज पूर्व पत्रकार एवं मानवअधिकारकर्मी हुनुहुन्थ्यो। त्यस्तै, अमृत नेकपा (एमाले) रोल्पा जिल्लाका जिल्ला अध्यक्ष हुनुहुन्छ ।
