काठमाडौं, पुस २९ गते । हरेक वर्ष माघ १ गते मनाइने माघेसङ्क्रान्ति नेपालीको महत्त्वपूर्ण पर्वमध्ये एक हो । माघेसङ्क्रान्तिमा विशेषगरी तरुल, सकरखण्ड, पिँडालु, चाकु, घिउलगायत पोषिलो एवम् मिष्ठान्न परिकार खाने प्रचलन छ । त्यसो त थारू, मगरलगायत विभिन्न समुदायमा आ–आफ्नो प्रचलन अनुसार यही दिन माघी पर्व पनि मनाइने गरिन्छ ।
माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा विगतमा झैं उपत्यकाको मुख्य बजार कालीमाटी तरकारी बजारमा तरुल खरिदबिक्रीको चहलपहल बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार अघिल्लो वर्ष २८ सय टनभन्दा बढी तरुल भित्रिएको थियो । यो वर्ष पुससम्म करिब १५ सय टनको हाराहारीमा तरुल भित्रिसकेको छ । यसरी भित्रिनेमा घर तरुल, वन तरुल, सेतो तरुल, रातो तरुल, हात्ती पाइले तरुल, सिमल तरुललगायतका विभिन्न किसिमका तरुल छन् ।
कालीमाटी बजारमा सबैभन्दा बढी सर्लाहीबाट तरुल भित्रिने गरेको छ । श्रेष्ठका अनुसार ती विभिन्न किसिमका तरुलमध्ये माघेसङ्क्रान्तिमा सबैभन्दा बढी झण्डै ५० प्रतिशत घर तरुल भित्रिने गर्दछ ।
उहाँले भन्नुभयो, “मुख्यतया तराईका जिल्लाहरुबाट र बढी सर्लाहीबाट भित्रिन्छ । यसबाहेक सुनसरी, मोरङ, झापा र काठमाडौंका छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, चितवनलगायतका जिल्लाबाट पनि ठुलो परिमाणमा तरुल भित्रिन्छ ।”
छिमेकी मुलुक भारतलगायतका देशबाट भने आयात गर्नुपर्ने अवस्था नरहेको तथा आन्तरिक उत्पादन नै पर्याप्त रहेको उहाँको भनाइ छ ।
विगतका वर्षमा भन्दा यो वर्ष बजारमा तरुलको मूल्य बढेको छ । २०७९ सालमा तरुलको मूल्य औसतमा प्रतिकिलो ६० रुपियाँ, २०८० मा प्रतिकिलो ६६ रुपियाँ र यो वर्ष प्रतिकिलो ७८ रुपियाँ पुगेको छ ।
यसैगरी, पिँडालुको २०७९ सालमा औसत मूल्य प्रतिकिलो ४६ रुपियाँ, २०८० मा ५८ रुपियाँ र यो वर्ष प्रतिकिलो ८३ रुपियाँ पुगेको छ । यस्तै, सखरखण्ड २०७९ मा औसतमा प्रतिकिलो ६० रुपियाँ, २०८० मा प्रतिकिलो ६६ रुपियाँ र यो वर्ष ८१ रुपियाँ प्रतिकिलो पुगेको छ ।
उहाँले भन्नुभयो, “अघिल्लो सालको जुन औसत मूल्य हो त्यसको तुलनामा अलिकति मूल्य माथि गएको देखिन्छ । अघिल्लो साल प्रतिकिलो ७०, ८० रुपियाँको हाराहारीमा बिक्री भएको थियो भने यो वर्ष चाहिँ ८० देखि एक सय रुपियाँसम्ममा बिक्री भएको देखिन्छ ।”
यो वर्ष तरुलको मूल्य किन वृद्धि भएको हो भन्ने जिज्ञासामा उहाँले सबै ठाउँमा भएको मूल्यवृद्धिको प्रभाव बजारभाउमा समेत परेको प्रतिक्रिया दिनुभयो । “यो पटक जुन वर्षात्, बाढीपहिरो भयो त्यसले पनि प्रभावित भएको हुन सक्छ । बजार लागत पनि बढेका छन्, यातायात खर्च बढेका छन् र त्यसले गर्दा पनि हुन सक्छ”, उहाँले भन्नुभयो ।
माघेसङ्क्रान्ति पर्वमा तरुलको व्यापार सम्बन्धमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि सपना थामीले गर्नुभएको भिडियो संवाद :
भिडियो छायाँकन तथा सम्पादन : मनोजरत्न शाही