• १३ साउन २०८१, आइतबार

अधिकांश पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

blog

लक्ष्मी चौधरी/ माला कर्ण/देवराम यादव

जनकपुरधाम, जेठ १० गते ।  मधेस प्रदेशस्थित धनुषा जिल्लाको अधिकांश पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत भएको निर्वाचनमा जिल्लाको १८ वटा पालिकामध्ये १० वटा पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट सात नगरपालिका र तीन गाउँपालिका रहेका छन् ।

जसमध्ये हंसपुर नगरपालिकामा प्रदीपकुमार यादव, कमला नगरपालिकामा विशेश्वर यादव, गणेशमान चारनाथ नगरपालिकामा जितनारायण यादव, धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल, नगराइन नगरपालिकामा विनयकुमार यादव, मिथिला नगरपालिकामा महेन्द्र महतो र मिथिला बिहारी नगरपालिकामा राजेन्द्रप्रसाद यादव हुनुहुन्छ । तीन गाउँपालिकामा लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र, बटेश्वर गाउँपालिकामा रामअशिष महतो र धनोजी गाउँपालिकामा राजकुमार साह हुनुहुन्छ ।  

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेह नगरपालिकामा बेचन दास तत्मा, क्षिरेशवरनाथ नगरपालिकामा सुखदेव यादव र औरही गाउँपालिकामा उमाशङ्करप्रसाद साह हुनुहुन्छ ।  

यसैगरी जसपाका तीनवटा पालिका र निर्वाचित उम्मेदवार, शहीदनगर नगरपालिकामा दिनेशप्रसाद यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जयकुमार यादव र जनकनन्दिनीमा दिपिनदेव यादव हुनुहुन्छ । जिल्लाको सबैला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव निर्वाचित हुनुभएको छ ।

सप्तरीमा कांग्रेस पहिलो 

गत स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा तेस्रा स्थानमा रहेको नेपाली कांग्रेस यस पटकको स्थानीय तहको निर्वाचनमा पहिलो स्थान हासिल गरेको छ । नेपाली कांग्रेसले जिल्लामा तीन नगरपालिका र दुई गाउँपालिका जितेर पहिलो स्थान प्राप्त गरेको छ । 

नेपाली कांग्रेस सप्तरीको सप्तकोसी, कञ्चनरूप, सुरूङ्गा नगरपालिका र तिरहुत, तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुवै जितेको छ । त्यस्तै एमाले, जसपा र लोसपाले तीन/तीनवटा पालिका जितेका छन् । जनमत दुई तथा माओवादी र नेकपा एसले एक/एक पालिका जितेका छन् । 

गत निर्वाचनमा एउटा पनि पालिका जित्न नसकेको नेकपा माओवादी केन्द्र यो निर्वाचनमा एक नगरप्रमुख र एक गाउँपालिका उपाध्यक्ष जितेको छ । आइतबार जिल्लाका १८ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त अन्तिम परिणामअनुसार सो नतिजा आएको हो । जसपाले राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिका र विष्णुपुर गाउँपालिका जितेको छ । नेकपा एमालेले डाक्नेश्वरी नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिका जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले महादेवा, छिन्नमस्ता र रूपनी गाउँपालिका जितेको छ । 

त्यस्तै पहिलो पटक निर्वाचनमा भाग लिएको जनमत पार्टीले जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र बलानबिहुल गाउँपालिका जितेको छ । नेकपा (माओवादी केन्द्र)ले खडक नगरपालिका र नेकपा एकीकृत समाजवादीले शम्भुनाथ नगरपालिकामा जित हासिल गरेको छ ।