• १३ साउन २०८१, आइतबार

दलका जिल्ला अध्यक्ष पराजित

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ ९ गते । स्थानीय तह निर्वाचनमा प्रमुख/अध्यक्षमा उम्मेदवार बन्नुभएका प्रमुख दलका जिल्ला अध्यक्षहरू पराजित भएका छन् । मधेस प्रदेशअन्तर्गत सिरहा र धनुषामा पार्टीका जिल्ला अध्यक्ष पराजित भएका हुन् । प्रमुख दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्षहरू स्थानीय तह निर्वाचनमा पराजित भएका छन् । 

सिरहा जिल्लाको अर्नमा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष चन्देश्वर मण्डल जसपाका उम्मेदवार अशोककुमार यादवबाट पराजित हुनुभएको छ । अशोक तीन हजार २३३ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्देश्वर मण्डलले दुई हजार ८१० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै धनुषाको सबैला नगरपालिका प्रमुखमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो स्थानको मत प्राप्त गरेर पराजित हुनुभएको छ । त्यहाँ नेकपा (माओवादी केन्द्र)का कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका जिल्ला अध्यक्ष राजकिशोरले तीन हजार ५८१ मत पाउनुभएको छ । 

यस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार नेकपा (एमाले)का उम्मेदवार सुखदेव यादवबाट पराजित हुनुभएको छ । निर्वाचित यादवले सात हजार ९१३ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रमुख पजियारले सात हजार ३०० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) धनुषाका अध्यक्ष पशुपति यादव कमला नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग पराजित हुनुभएको छ । निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत प्राप्त गर्नुभएको छ भने पशुपतिले दुई हजार ८५९ मत पाउनुभएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का धनुषाका अध्यक्ष देवेन्द्रकुमार यादव दीपक धनुषाधाम नगरपालिका प्रमुखमा तेस्रो स्थानको मत प्राप्त गरेर कांग्रेसका बालेश्‍वर मण्‍डलबाट पराजित हुनुभएको छ । निर्वाचित निवर्तमान प्रमुख मण्‍डल चार हजार ७१८ मत पाउनुभएको छ । यादवले तीन हजार २५९ मत ल्याउनुभएको छ । पार्टीभित्रको आन्तरिक किचलो, अस्वस्थ प्रतिस्पर्धा, टिकट वितरणमा मनोमानीलगायतका कारणले पार्टीका जिल्ला अध्यक्षहरूले हार बेहोर्नु परेको बताइएको छ ।