• १८ असार २०८१, मङ्गलबार

सिटीलाई इङ्लिस प्रिमियर लिग उपाधि

blog

अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै म्यानचेस्टर सिटी र एस्टन भिल्लाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ ९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीको यो समग्रमा छैटौं प्रिमियर लिग उपाधि हो । 

रोमाञ्चक खेलमा सिटीले दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै पुनरागमन जित निकाल्यो । सिटीको जितमा इल्के गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गर्नुभयो । एस्टन भिल्लाका म्याटी क्यास र फिलिप कोउटिन्होले गोल गर्नुभएको थियो । 

खेलमा सुरुवाती अग्रता एस्टन भिल्लाले लिएको थियो । म्याटी क्यासले ३७औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाउनुभयो । कोउटिन्होले ६९औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि जोसिएको सिटीले ७६औं मिनेटमा पहिलो गोल फर्काएको थियो । 

गुन्डोगानले रहिम स्टर्लिङको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । दुई मिनेट लगत्यै रोड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ८१औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीको उपाधि पक्का बनाउनुभयो । 

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक बनायो । पराजित एस्टन भिल्ला ४५ अंकसहित १४औं स्थानमा रह्यो । यता उपाधि जित्न सिटीको नतिजा पर्खिएको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्सलाई ३–१ गोलले हरायो । जितसँगै दोस्रो भएको लिभरपुलले ३८ खेलबाट ९२ अंक बनायो । पराजित वल्भ्स ५१ अंक सहित १०औं स्थानमा रह्यो । 

अन्य खेलमा चेल्सीले वाटफोर्डलाई २–१ तथा टोट्टनहामले नर्विच सिटीमाथि ५–० गोलको सानदार जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान बनायो । चेल्सी तेस्रो र टोट्टनहाम चौथो स्थानमा रह्यो । यस सिजन नर्विच सिटी, वाटफोर्ड र वर्नली रेलिगेसनमा परेको छ । एजेन्सी