काठमाडौँ, पुस १० गते । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा सजिएको क्रिसमस ट्री र झिलीमिली बत्तीले जोकोहीलाई पनि मोहित बनाउँछ । अझ त्यहाँ रहेको सान्टा क्लजको राता लुगालाई अधिकांशले ‘मेरी क्रिसमस’ भन्दै शुभकामना साटिरहेको देखिन्छ । क्रिसमस आउनु हप्ता दिनअघिदेखि नै काठमाडौँका मुख्य सपिङ सेन्टर, मल, रेस्टुराहरू क्रिसमसमय बनिसक्छन् । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमसमा काठमाडौँका सिभिल मल, भाटभटेनी, ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठुला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।
संस्कृतिविद् गोविन्द टण्डन भन्नुहुन्छ, “हामीले हाम्रो नयाँ वर्षलाई जसरी मनाउनुपर्ने थियो त्यसरी मनाइरहेका छैनौँ तर पश्चिमी संस्कृतिबाट फलेफुलेको नयाँ वर्षलाई नेपालका व्यापारिक मलहरूदेखि लिएर रेस्टुराँ, होटल र सबैतिर धुमधामले मनाउने चलन देख्दा मान्छेको मनमा यो कस्तो हो भन्ने पनि लाग्छ ।” यसमा व्यापार व्यवसायको कुरा अन्तर्निहित भएको हुन्छ । विक्रम संवत् वा हाम्रो आफ्नो संवत्मा पूजाआजा, उपासनालगायतका कुरा गरिन्छ, धुमधाम र तडकभडक गरेर मनाइँदैन, उहाँ भन्नुहुन्छ, “अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाइएको देख्दा हाम्रा संवत् कमजोर बनेको हो भन्ने भान हुन सक्छ । यो भनेको व्यापारीकरण हो । मौकामा व्यापार बढाउने उद्देश्यले मात्र यो भव्य तरिकाले मनाइएको भन्ने लाग्छ ।” क्रिसमसको ठुलो आकर्षण भनेकै सान्टा क्लज हो । रातो टोपी लगाएका, सेतो दाह्री, जुँगा भएका मोटाघाटा व्यक्तिले सबैलाई उपहारका साथ खुसी बाँड्छन् भन्ने विश्वास रहँदै आएको छ । सान्टा क्लजको प्रतीक्षामा धेरै केटाकेटी राति अबेरसम्म सुत्दैनन् । विभिन्न व्यक्तिहरू सान्टा क्लजको भेषमा उपहार र कोसेली बाँड्दै/साट्दै हिँड्छन् ।
कलाकार दीपकराज गिरी क्रिसमसलाई मनबाट भन्दा पनि मस्तिष्कबाट मनाउने बताउनुहुन्छ । मस्तिष्कले के भन्छ भने, हाम्रो देशमा क्रिश्चियन पनि हुनुहुन्छ, हिन्दु पनि हुनुहुन्छ, बुद्ध धर्म मान्नेहरू पनि हुनुहुन्छ, यी सबैलाई सम्मान गर्नु पर्छ । अन्य धर्मलाई पनि सम्मान गर्नु पर्छ । मनमा मेरो आफ्नो धर्म, संस्कृति र परम्परा त छँदै छ । कुनै पनि भेदभाव नगरिकन यसलाई रमाइलोसँग मनाउन कलाकार गिरी सबैलाई आग्रह गर्नुहुन्छ । यो मनोरञ्जन गर्ने बहाना भएको उहाँको भनाइ छ ।
अभिनेतृ सञ्चिता लुइटेल क्रिसमसको योजना खासै नबनाउने बताउनुहुन्छ । म खासै क्रिसमस मनाउँदिनँ तर अन्यले शुभकामना भने पछि हट्दिन, उहाँ भन्नुहुन्छ, “कुनै पनि चाडपर्व मनाउने भनेको व्यक्तिगत इच्छाको कुरा हो ।” उहाँका अनुसार अहिले हाम्रो समाजमा जुनसुकै पर्वलाई पनि सम्मान दिने चलन आएको छ । हामी हरेक किसिमका चाडपर्व मनाउँछौँ । अरूको पर्वलाई सम्मान दिनु एकदमै राम्रो कुरा हो । नेपालमा नेपालीले ‘भ्यालेन्टाइन डे’ लाई आफ्नो चाडपर्व जस्तो गरेर मनाउँछन् तर विदेशमा यहाँ जस्तो मनाउने चलन छैन । क्रिसमस डे लाई पनि हामी घर घरमा क्रिसमस ट्री राखेर मनाउँछौँ । बाहिरतिर यो एकदमै कम देखिन्छ । अहिले समय अनुसार ‘क्रसमस डे’ मनाउने चलन बदलिएको छ । अन्य उमेर समूहभन्दा युवाले रमाइलोसँग ‘क्रिसमस डे’ मनाउने गरेका छन् । युवाले सान्टा क्लजको टोपी तथा टिसर्ट लगाउने गरेका छन् । पहिला विदेशीको पर्व भनेर खासै यसलाई महत्व दिइँदैनथ्यो तर अहिले सम्मानका साथ क्रिमसम मनाइन्छ । बुझेर वा नबुझेर हो, हाल ठुला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति विश्वभर फैलने क्रम तीव्र पनि छ ।