• ५ जेठ २०८१, शनिबार

निर्वाचित प्रमुखहरुले पदभार सम्हाल्न थाले

blog

पदभार सम्हाल्दै सुरुङ्गा, शम्भुनाथ, हनुमाननगरका प्रमुखहरु । तस्बिरः धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ ७ गते । मधेस प्रदेशका स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट पदभार सम्हाल्न थाल्नुभएको छ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरुले पदभार सम्हाल्न थाल्नुभएको छ । 

यसैक्रममा प्रदेश अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिका प्रमुख र उपप्रमुखले पदभार सम्हाल्नुभएको छ । त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । 

सुरुङ्गा नगरपालिका प्रमुखमा काँग्रेसका गीता चौधरी, उपप्रमुखमा रुद्रबहादुर कार्की, शम्भुनाथ नगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी) जितेन्द्रप्रसाद गुप्ता कलवार (नुनु), उपप्रमुखमा अनिता चौधरी,  हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुखमा जनमत पार्टीका वीरेन्द्र माझी र उपप्रमुखमा जसपाका सरिता यादवले पदभार सम्हाल्नुभएको छ । 

यस्तै, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित काँग्रेसका अरुणकुमार मण्डल र उपाध्यक्ष फुलकुमारी साहसहित जनप्रतिनिधिलाई एक कार्यक्रमबीच शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित समारोहमा निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले उहाँहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत तथा सहायक निर्वाचन अधिकृत केशवकुमार झाले गम्छा ओढाई सम्मान गर्नुभयो ।

प्रमाणपत्र ग्रहणपश्चात् बोल्दै अध्यक्ष अरुणकुमार मण्डलले आफ्नो दलबाट माथि उठेर गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधिहरुलाई काँधमाकाँध मिलाई अगाडि बढ्न आग्रह गर्नुभयो । गाउँपालिकाको विकासका लागि तथा भ्रष्टाचार नियन्त्रणका लागि सबैले एकजुट भएर लाग्नुपर्ने र यस कार्यमा सबै कर्मचारीलाई समेत सहयोग गर्न अध्यक्ष मण्डलले आग्रह गर्नुभयो ।

Author

धीरेन्द्रप्रसाद साह