• २९ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय महिला टी -२० शृङ्खला : नेपालको सान्त्वना जित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते ।  १५ वर्षीया लेग स्पिनर हिरान्मयी रोय आफ्नो पदार्पण खेलमा नै निर्णायक प्रदर्शन गरेपछि नेपालले शुक्रबार चौथो महिला टी–२० एकदिवसीय खेलमा युगान्डालाई १५ रनले हराएको छ ।

सुरुका तीन खेल हारेर घरेलु टिम नेपालले पाँच खेलको शृङ्खला युगान्डालाई सुम्पिसकेको छ । त्यसैले नेपालको यो सान्त्वना जित भएको छ । नेपालले शनिबार अन्तिम खेलमा पनि युगान्डालाई हराएर आफ्नो प्रतिष्ठा जोगाउने प्रयास गर्नेछ ।

हिरान्मयी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो खेलमा नै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । उहाँले तीन ओभरमा ११ रन खर्चेर महत्त्वपूर्ण दुई विकेट लिएपछि १८ ओभरमा ९८ रनको लक्ष्य पछ्याएको युगान्डा आठ विकेटको क्षतिमा ८२ रनमा सीमित भएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १७.५ ओभरमा ९७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि प्रारम्भिक ब्याटर ज्योति पाण्डेले १३ बलमा चार चौकासहित १७ रन बनाउनुभयो । सो सङ्क्षिप्त पालि नै नेपालका लाग सर्वाधिक व्यक्तिगत पालि रह्यो । अर्की प्रारम्भिक ब्याटर बन्दु रावलले ३५ बलमा १६ रनको पालि खेल्नुभयो । 

त्यसपछि सीता रानामगरले आठ बलमा दुई चौकासहित ११ रन बनाउनुभयो । नेपालको पालि एक समय ८.३ ओभरमा दुई विकेटको क्षतिमा ५२ रनसहित राम्रो स्थितिमा थियो तर त्यसपछि नेपालले लगातार विकेट गुमायो । नेपालले अन्तिम छ विकेट २८ रनमै गुमायो ।

कप्तान रुविना क्षेत्री १, अप्सरी बेगम ४, डली भट्ट, अस्मिना कर्माचार्य र कविता कुँवर समान ६–६ रनमा आट हुनुभयो । युगान्डाकी कप्तान कोन्सी अविकोले चार ओभरमा १३ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । सारा एकिटेङले दुई विकेट हात पार्नुभयो ।

युगान्डाको पालिमा जेनिट एमबाब्ले ३२ बलमा एक चौकासहित सर्वाधिक २१ रन बनाउनुभयो । उहाँलाई हिरन्मयीले नै बोल्ड गर्नुभयो । अन्तर्राष्ट्रिय क्रिकेटमा हिरन्मयीको यो पहिलो विकेट भएको छ ।  अस्मिना कर्माचार्य, कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिनुभयो ।