• १५ असार २०८१, शनिबार

महानगरबाहेकका परिणाम अन्तिम चरणमा

blog

पोखरा, जेठ ६ गते । हाम्रा पूर्वी नवलपरासी समाचारदाता होमराज रानाभाट/मीना कँडेलका अनुसार, पूर्वी नवलपरासीका आठ स्थानीय तह सबैको नतिजा सार्वजनिक भइसकेको छ । आठ पालिकामध्ये हुप्सेकोट र गैँडाकोटमा नेपाली काँग्रेस विजयी भएको छ भने देवचुली, कावासोती, मध्यबिन्दु, बौदीकाली, बुलिङ्टार र विनयीमा एमाले विजयी भएको छ ।

२०७४ सालको निर्वाचनमा काँग्रेसले जितेका पाँच पालिका गुमाएर यस पटक दुई पालिकामा मात्र जित हासिल गरेको छ । ९२ वडा रहेको पूर्वी नवलपरासीमा ४२ वटामा काँग्रेस, ४८ वटामा एमाले, १ राप्रपा र १ माओवादीले हात पारेका छन् ।

यस्तै कावासोती नगरपालिकामा प्रमुख, उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा विष्णु भुषाल र उपप्रमुखमा फूलकुमारी महतो विजयी हुनुभएको छ । विष्णु भुषालले १८ हजार ६०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका महेन्द्र पोख्रेलले १८ हजार ३१६ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा १९ हजार ७२४ मत प्राप्त गरी फूलकुमारी थनेत विजयी हुनुभयो । गठबन्धनका तर्फबाट काँग्रेसका पतिराम थनेतले १३ हजार ५६१ मत प्राप्त गर्नुभएको छ । १७ वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ भने पाँचवटा काँग्रेस गठबन्धनले जितेको छ ।

यसैगरी नवलपुरको मध्यबिन्दु नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका भीमलाल अधिकारीले १६ हजार २१२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका सूर्य गुरुङले १४ हजार ६४५ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुख निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १०५ ल्याउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी काँग्रेसकी टीकाकुमारी महतोले १४ हजार ५६४ मत प्राप्त गर्नुभयो । मध्यबिन्दुमा एमालेले १० वडा र काँग्रेसले ५ वडामा विजय प्राप्त गरेका छन् । यसअघि २०७४ मध्यबिन्दु नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको थियो ।

प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी 

तनहुँ समाचारदाता अमरराज नहर्कीका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुख माओवादी केन्द्र विजयी भएको छ । काँग्रेसका कृष्णराज पण्डितले फराकिलो मतान्तरले एमालेका मुक्तिनाथ तिमिल्सिनालाई हराउनुभयो । पण्डितले १२ हजार २६३ र एमालेका मुक्तिनाथ तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर विक १० हजार २६२ मत प्राप्त गर्दा एमालेकी फूलमाया वाग्लेले नौ हजार ९५७ मत प्राप्त गर्नुभयो ।

वडामा भने एमालेले वर्चस्व कायम गरेको छ । १२ वडा रहेको यस नगरपालिकामा काँग्रेस वडा नम्बर १, २, ३, ४ र ७ मा विजयी भएको छ भने एमालेले ५, ६, ८, ९, ११ र १२ वडामा जितेको छ । त्यस्तै माओवादीले वडा नम्बर १० मा जित हासिल गरेको छ । यहाँ काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । २०७४ सालको निर्वाचनमा पनि काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । 

पुनः मतदानमा ११ प्रतिशत मत बढी 

तनहुँको वडा नम्बर ८ को दुईवटा केन्द्रमा भएको पुनः मतदानमा पहिलेको भन्दा ११ प्रतिशत मत बढी खसेको छ । पहिला ५२ प्रतिशत मत खसेको थियो भने अहिले ६३ प्रतिशत मत खसेको हो । दुई केन्द्रमा गरी ९९५ मत खसेको पुरानो गाविस भवन फेदी ‘क’ केन्द्रका मतदान अधिकृत मित्रलाल भट्टराईले जानकारी दिनुभयो । उक्त ठाउँमा रहेको ‘क’ केन्द्रमा ७५६ मतदाता रहेकोमा ४८० र ८२० मतदाता रहेको ‘ख’ केन्द्रबाट ५१५ मत खसेको उहाँले बताउनुभयो । ‘समग्रमा ६३ प्रतिशत मत खसेको छ’ भट्टराईले भन्नुभयो । वैशाख ३० गतेको निर्वाचनमा उक्त केन्द्रमा ५२ प्रतिशत मत खसेको थियो ।

शान्तिपूर्ण वातावरणमा मतदान भएको ‘ख’ केन्द्रका मतदान अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो । वैशाख ३० गते स्वतन्त्रका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि उक्त स्थानका मतदान रद्द गरिएको थियो । निर्वाचन आयोगले जेठ ४ गते पुनः निर्वाचन गर्न निर्देशन दिएपछि बुधबार निर्वाचन सम्पन्न भएको हो । उक्त केन्द्रको मतपेटिका मुचुल्का गरी सदरमुकाम दमौलीमा ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । 

पालुङटारमा माओवादी विजयी

गोरखा समाचारदाता नरेन्द्र ढकालका अनुसार, पालुङटार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जनता समाजवादी पार्टी र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी भएको हो । 

माओवादी केन्द्रका विवश चिन्तनले छ हजार ७२ मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले पाँच हजार ७१७ मत ल्याउनुभएको छ । यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेकी छोरी वन्दनाले पाँच हजार ५७९ मत ल्याउनुभएको छ । उहाँकी प्रतिस्पर्धी काँग्रेसकी चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गर्नुभएको छ ।

गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकी मसलीमाया थोकर (सपना पुन)ले जित्नुभएको छ । 

नगरप्रमुखमा विजयी रानाले आठ हजार ९६४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले सात हजार १०८ मत प्राप्त गर्नुभएको छ । माओवादी र जनता समाजवादीको तालमेलका बाबजुद पनि ७३५ मतान्तरले थोकर उपप्रमुखमा विजयी बन्नुभएको छ । उहाँले सात हजार ४५३ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेको छ । वडा नम्बर १, २, ९, १०, १२ र १३ मा काँग्रेसले वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले वडा नम्बर ४, ७, ८, ११ र १४ मा विजय हासिल गरेको छ भने वडा नम्बर ३ र ५ मा नेकपा (एमाले)ले जित हासिल गरेको छ । वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार राजेन्द्रकुमार जोशीले जित्नुभएको छ । 

काठेखोलामा उल्टियो नतिजा

बागलुङ समाचारदाता नवीनशिशिर विकका अनुसार, बागलुङको काठेखोला गाउँपालिकामा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले २०७४ को निर्वाचनमा जित हासिल गरेको थियो भने यस पटक नेपाली काँग्रेसले पाँच वर्षअघिको आफ्नो हारलाई उल्टाएको छ । यस पटक अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा ‘तिलक’ विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी थापाले सात हजार ७५१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धीले छ हजार ३७६ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा तेजबहादुर थापाले छ हजार ७१२ मत ल्याउँदा एमाले उम्मेदवार कोपिला पुनले छ हजार ४४८ मत प्राप्त गर्नुभयो । 

नगरमा काँग्रेस, गाउँमा एमाले  

स्याङ्जा समाचारदाता अर्जुन काफ्ले÷राधाकृष्ण डुम्रेका अनुसार, स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र छ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली काँग्रेस तथा एक नगरपालिका र पाँच गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरमा काँग्रेसको जित हुँदा गाउँमा एमालेको वर्चस्व देखिएको हो । 

२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक एक नगरपालिका र पाँच गाउँपालिकामा सीमित भएको हो । पुतलीबजार नगरप्रमुखमा काँग्रेसका तुलसी रेग्मी र उपप्रमुखमा देवी अर्याल विजयी हुनुभएको हो । रेग्मीले १२ हजार ५१५ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी सीमाकुमारी क्षेत्रीले १० हजार ९०० मत प्राप्त गर्नुभएको हो । यस्तै उपप्रमुखमा अर्यालले ११ हजार ७४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७६१ मत पाउनुभएको छ ।

भीरकोट नगरपालिकाको प्रमुखमा काँग्रेसका गोविन्दकुमार कर्माचार्यले छ हजार ५०४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने कर्माचार्यका प्रतिस्पर्धी एमालेका विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत प्राप्त गरेर पराजित हुनुभएको छ । यसैगरी उपप्रमुखमा काँग्रेसकी भगवती रेग्मी अर्यालले सात हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले चार हजार ८९८ मत मात्र प्राप्त गर्नुभएको छ ।  नगरपालिकाको वडा ८ का अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमाले विजयी भएको हो । 

यस्तै गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी हुनुभएको छ । भट्टराईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका सूर्यप्रसाद गैह्रे ‘पारस’लाई पराजित गर्दै विजयी हुनुभएको हो । भट्टराईले नौ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले आठ हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकै हेमा न्यौपानेले नौ हजार ११८ मतका साथ गर्दा एमालेकी देवी थापाले नौ हजार ५५ मत प्राप्त गर्नुभएको छ । नगरका वडा नम्बर १, ३, ४, ६, ९ र १० गरी छवटा  वडामा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ भने २, ७, ५, ८ र ११ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वालिङ नगरपालिका प्रमुखमा नेकपा एमालेका कृष्ण खाणले १३ हजार ७७६ मतका साथ दिलीपप्रताप खाणलाई पराजित गर्नुभएको छ । दिलीपले ११ हजार ५९३ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याएर एमालेकी खगिसरा थापालाई पराजित गर्नुभएको हो । थापाले १२ हजार ३४० मत ल्याउनुभएको छ । काँग्रेसले वडा नम्बर १, २, ५, १०, ११ र १४ गरी बहुमत कार्यपालिका सदस्य जितेको छ भने एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडामा जित हात पारेको छ । 

यसैगरी चापाकोट नगरपालिकामा काँग्रेसका देवबहादुर खाणले सात हजार ४९० मतका साथ एमालेका राजु कोइरालालाई पराजित गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसका इशा रानाले सात हजार ४१३ मत पाएर विजयी हुँदा एमालेकी सृष्टि मल्लले छ हजार ३७६ मत प्राप्त गर्नुभएको थियो । चापाकोटमा १, २, ७, ९ र १० वडा एमालेले र काँग्रेसले ३, ४, ५, ६, ८ वडा जितेको छ । 

यसैगरी अर्जुनचौपारीमा प्रकाश तिवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । तिवारीले नेकपा एमालेकी चिनमाया गुरुङलाई पराजित गर्नुभएको हो । अर्जुन चौपारीमा १, २, ३, ४, ५ वडा जित्दा छवटा एमालेले जितेको छ । गाउँपालिकाका अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा एमालेकी गुरुङले चार हजार ८२७ मत प्राप्त गरेर पराजित हुनुभयो ।

उपाध्यक्षमा समेत काँग्रेसले जित हात पारेको छ । काँग्रेसकी सपना गुरुङले तीन हजार ३४७ मत प्राप्त गर्दा एमालेका टङ्कप्रसाद खनालले तीन हजार ७६७ मत प्राप्त गर्दै पराजित हुनुभएको छ । फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित सुवेदीले तीन हजार ८३६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्नुभएको हो । गुरुङले तीन हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

पाँचवटा वडा रहेको गाउँपालिकामा १, ३, ४ र ५ मा काँग्रेसका अध्यक्षका उम्मेदवार विजयी भएकोमा वडा नम्बर २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी हुनुभएको छ । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको हो । एमालेका विश्वनाथ पौडेल नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो ।

पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्दा काँग्रेसका प्रेमराज पौडेलले चार हजार ३५१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकै सीता थापा पाँच हजार २७३ मत प्राप्त गर्दै विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का रामचन्द्र पौडेल तीन हजार ८१७ मत प्राप्त गर्दै पराजित हुनुभएको छ । 

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर चार हजार ८७२ मतले विजयी हुँदा काँग्रेसका उम्मेदवार डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी भगवती शर्मा चार हजार ९३७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभएको छ । बिरुवामा तीन वडा काँग्रेसले, एमालेले तीन र माओवादी केन्द्रले एउटा वडा जितेको छ । 

यसैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा छ हजार ७०० मतले विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला छ हजार २२३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ३३० मत प्राप्त गर्नुभएको छ ।

हरिनास गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धरले काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थापाले गठबन्धनका मिठु नेपालीलाई २४ मतले पराजित गर्नुभएको छ । मानन्धरले चार हजार ७६९ मत ल्याउँदा थापाले चार हजार ७४० मत प्राप्त गर्नुभएको थियो । हरिनाशमा काँग्रेसले १, २ र ५ वडा र एमालेले ३, ४ र ६ जितेको छ । 

स्रोत व्यक्तिदेखि गाउँपालिका अध्यक्षसम्म 

बेनी समाचारदाता ठाकुरप्रसाद आचार्यका अनुसार, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले चार हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलबहादुर तिलिजाले तीन हजार ३१६ र उपाध्यक्षका उम्मेदवार ललिता तिलिजाले तीन हजार ३५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो । 

तत्कालीन शिक्षा कार्यालयमा स्रोत व्यक्तिका रूपमा रहनुभएका पुन पछिल्लो समय गाउँपालिकाको शिक्षा शाखाको संयोजक पदमा कार्यरत हुनुहुन्थ्यो । पार्टीले पुनलाई पालिका अध्यक्षका लागि अनुरोध गरेपछि राजीनामा दिएर चुनावी मैदानमा उत्रिनुभएको हो । आठवटा वडा रहेको अन्नपूर्णको १, २, ३, ७ र ८ नम्बर वडामा नेकपा एमाले, ४ ५ र ६ मा काँग्रेसले विजय हासिल गरेको छ । 

मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना बुधबार बिहानदेखि सुरु गरिएको थियो । अन्नपूर्णको मत परिणाम सार्वजनिक भएसँगै म्याग्दीका सबै स्थानीय तहमा मतगणना सकिएको छ । जिल्लामा रहेका छ स्थानीय तहमध्ये नेकपा एमालेले मालिका, मङ्गला, अन्नपूर्ण र बेनी नगरपालिकामा प्रमुख जितेको छ । नेपाली काँग्रेसले रघुगङ्गामा अध्यक्ष र उपाध्यक्ष र धौलागिरिमा अध्यक्ष जितेको छ ।

यसैगरी माओवादीले बेनीनगरको उपप्रमुख र धौलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । बेनीनगर र धौलागिरिमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । जिल्लाका ४५ वडामध्ये एमालेले २२, काँग्रेसले १७ र माओवादी केन्द्रले छ वडामा विजय हासिल गरेका छन् । 

Author

गण्डकी प्रदेश ब्युरो