काबुल, वैशाख १० गते । अफगानिस्तानका विभिन्न भागमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् । पश्चिमी बदघिस प्रान्तको प्राकृतिक विपद व्यवस्थापन समितिका प्रमुख मावलावी बारिदाद साबेरले भारी वर्षा पछि बुधबार राति बाला मुर्घाब जिल्लाका विभिन्न क्षेत्रमा बाढी आएको बताउनु भएको छ ।
बडघिस प्रान्तमा बाढीका कारण तीन बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन् भने बाढीले प्रभावित क्षेत्रका आवासीय घर र कृषि जग्गामा क्षति पुर्याएको छ । अफगानिस्तानको उत्तरमा रहेको समङ्गान प्रान्तमा दारा-इ-सुफ पायिन जिल्लामा भारी वर्षापछि बिहीबार आएको बाढीमा एक जनाको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।
उत्तरी फरयाब प्रान्तको विभिन्न भाग बाढीले बगाएको भएता पनि कुनै हताहत नभएको जनाइएको छ । अफगानिस्तानको मौसम विभागले बिहीबार देशका केही भागमा थप वर्षा र बाढीको पूर्वानुमान गरेको छ । रासस/सिन्ह्वा