• २७ मंसिर २०८१, बिहिबार

सहरको किनाराको कथा ‘कोठा’

blog

काठमाडौँ, मङ्सिर २४ गते । सहर सपना देख्नेहरूको भिडले घेरिएको छ । काठमाडौँ छिर्ने गाडीमा कोचिएर दैनिक कैयन ‘सपना’ सहर छिर्छन् । यही सपनाको भिडको एउटा कोठामा गुम्सिएका एक युवा । सहर छिरेपछि सहरले ऊमाथि हेर्ने दृष्टिकोण र उसले सहरलाई हेर्ने दृष्टिकोणका कुरा छोटो चलचित्र ‘कोठा’ मा पस्किन खोजिएको छ । पहिलो पटक सहर छिरेपछि घरको याद, एकोहोरो प्रेम, घरबेटीसँगको किचकिच, साथीभाइसँगको सङ्गतले युवा गिजोलिएको छ । उसलाई एक्लो बनाइएको छ । 

सुदूरपश्चिम नेपालको अछामबाट लोकेन्द्र पाण्डे (प्रवीणकुमार पाण्डे) आफ्नो सुन्दर गाउँमा भए पनि अनेकन बाध्यताले गर्दा सहर छिर्छन् । काठमाडौँको कीर्तिपुरमा एउटा सानो कोठामा उनको जीवनशैली सुरु हुन्छ । राम्रो भविष्य बनाउने सपना बोकेर उनी सहर छिर्छन् र उनी सहरभित्र गुम्सिन बाध्य हुन्छन् । सहरको धुलोलाई पर राखेर हृदयभित्र अनेकन आशा उत्साह बोकेर उनी सहर छिरेका हुन्छन् । उनीभित्र अनगन्ती आकाङ्क्षा छन् तर वास्तविकता उनले कल्पना गरेभन्दा धेरै फरक छ सहर । 

सानो कोठामा एक्लो बस्दा लोकेन्द्र आफ्नो जीवनशैलीलाई देखेर उकुसमुकुस देखिन्छन् ।  गाउँमा आमा (शीतल पाण्डे) ले गरेको माया, गाउँको सुगन्ध र उसको सरल जीवनले उसलाई बारम्बार गाउँको याद दिलाइरहन्छ । यता सहरमा भने कलेजको चाप, नयाँ साथीसँगको दुरी, एकोहोरो प्रेमले लोकेन्द्रलाई एक्लो र कमजोर बनाउँछ । 

गाउँबाट दाजु (सरोज खड्का) र भाउजू (कल्पना शाही) को आगमनपछि लोकेन्द्रलाई गाउँको स्नेह र तिक्तता दुवै झल्किन्छ । आमा र गाउँको यादले भरिएको कोसेली र केही भारतीय नोटले उनको मनमा दोधार उत्पन्न हुन्छ । उनी आफ्नो भित्री पीडा सहन सक्दैनन् । आखिरमा त्यो कोठा छोड्ने निर्णय लिन्छन् । 

उनले छाडे पनि त्यो कोठा कहिल्यै खाली रहँदैन । त्यो कोठामा लोकेन्द्रले मन पराएकी युवती (सवी थापा) भाडामा बस्न आउँछिन् । कोठाको भित्तामा टाँसिएको लोकेन्द्रको तस्बिर देख्दा युवती प्रभावित हुन्छिन् । कोठामा बाँकी रहेका तिनका सपना, सङ्घर्ष र छोडिएका पदचिह्नले उसको कथा नयाँ आँखाले देख्न प्रेरित गर्छ । 

चलचित्र ‘कोठा’ मा लोकेन्द्रको मात्र कथा छैन, सहरमा आशा र सपना बोकेर आउने कैयौँ युवाको कथा लुकेको छ । यो कथा सङ्घर्षको, छुट्टिएको माया र खोजिएको पहिचानको हो । कोठा केवल एउटा शारीरिक स्थान होइन । यो परिवर्तनशील जीवनको प्रतीक पनि हो । कोठामा कोही आउँछ, कोही जान्छ तर कोठाभित्र सधैँ एउटा न एउटाको कथाले भरिनै रहन्छन्  ।  निर्देशक भीष्म जोशी निर्देशकीय पक्षमा खासै नजमे पनि उहाँले कथामार्फत लोकेन्द्रको भोगाइलाई जीवनका बहुआयामिक पक्षको गहिरो चित्रण गर्न खोज्नुभएको छ । उहाँले चलचित्रमार्फत कोठालाई मानिसका सपना, सफलता, असफलता र खोजको ऐनाको प्रतीक बनाउन खोज्नुभएको छ । चलचित्रमा कथा भन्ने शैली र प्रस्तुतिमा कसिलोपन भेटिन्छ । चलचित्रमा हरेक कलाकारको प्रस्तुतीकरण सशक्त छ । 

१० मिनेटको यस छोटो चलचित्रको छायाङ्कन सरल रूपमा गरिएको छ, जसले दर्शकलाई चलचित्रसँग अपनत्व महसुस गराउँछ । चलचित्रभित्र यथार्थ कथा देखाउन खोजिएको छ । सहर छिरेर अध्ययन गरिरहेकाले चलचित्रमा आफूलाई पाउन सक्छन् । चलचित्रको अर्को राम्रो पक्ष भनेको यसको गीत÷सङ्गीत पनि हो । देव व्रत र भीष्म जोशीको रचना तथा प्रशान्त शिवाकोटीको सङ्गीत/गायनले आँखा रसाउँदैन भन्न सकिन्न ।