• २७ मंसिर २०८१, बिहिबार

रङ्गमञ्च र चलचित्र एकअर्काका परिपूरक

blog

काठमाडौँ, मङ्सिर २१ गते । कथा, प्रकाश, ध्वनि, रिहर्सल र कलाकारको जीवन्त अभिनयले रङ्गमञ्चलाई आकर्षित बनाउँदै आएको छ । रङ्गमञ्चबाट आफ्नो क्यारियर सुरु गरेर अभिनयमा खारिएका कलाकारले यतिबेला आफ्नो ‘मूलघर’ लाई कम समय दिँदा रङ्गमञ्च सुस्ताएको भान भएको छ । रङ्गमञ्चबाट ख्याति कमाएका कलाकार ठुलो पर्दामा आकर्षित हुन थालेपछि नाटकका गतिविधि कम भएका छन्, यद्यपि उनीहरूले चलचित्र र रङ्गमञ्चलाई साथै  लिएर नहिँडेका भने छैनन् । 

वरिष्ठ रङ्गकर्मी अशेष मल्ल यो एकदमै सकारात्मक पक्ष भएको बताउनुहुन्छ । उहाँका अनुसार “साहित्य, चित्रकला, नृत्य सबै कलाकै विधा हुन् । नाटक र चलचित्र जेमा भए पनि एउटा कलाकारलाई चाहिने भनेको उसको अभिनयको क्षमता प्रदर्शन गर्नु हो,” उहाँले थप्नुभयो, “अहिले नाटकमा अभिनय गरेर राम्रो आयआर्जन गर्छु भन्नु बेकार हो । त्यसैले एउटा रङ्गकर्मी चलचित्रमा गएर आफ्नो कला प्रदर्शन गर्छ भने त्यो खुसीकै कुरा हो ।” चलचित्रमा काम गरेर कलाकार स्वयम्ले आफ्नो क्षमता देखाउने मौका पनि पाइरहेको छ र केही आर्थिक अवस्था पनि राम्रो हुँदै गएको देखिन्छ । रङ्गमञ्चका कलाकारले चलचित्रमा अभिनय गर्न थालेपछि नेपाली चलचित्रको स्तर १० दोब्बर बढेको उहाँले बताउनुभयो । 

उहाँले आर्थिक दृष्टिले रङ्गमञ्चमा टिकिराख्नु धेरै गाह्रो भएकाले चलचित्रमा जानु स्वाभाविक रहेको बताउनुभयो । उहाँले हरेक कलाकारले केही न केही विकल्प खोज्नुपर्ने पनि सुझाउनुभयो । नेपाली चलचित्रका चर्चित अभिनेता र निर्देशकका रूपमा निश्चल बस्नेतले आफ्नो पहिचान बनाउनुभएको छ । उहाँको ‘स्कुलिङ’ पनि रङ्गमञ्चबाटै भएको हो । निर्देशक बस्नेत राम्रो गर्नका लागि एउटै विधामा सक्रिय हुनु पर्छ भन्ने मान्यता राख्नुहुन्न । उहाँ भन्नुहुन्छ, “रङ्गकर्मीहरू चलचित्रमा देखिँदा खासै असर पर्दैन । अहिले नाटकघर बनिरहेका छन् । मान्छेलाई जता रुचि हुन्छ त्यतै जाने हो ।” चलचित्रमा कम र थिएटरमा धेरै रुचि राख्ने कलाकार पनि आफूले देखेको उहाँको भनाइ छ । चलचित्रमा काम गरेको भन्दा थिएटरमा अभिनय गरेर आएका कलाकारलाई अभिनय गराउन धेरै सजिलो हुने उहाँले बताउनुभयो । उहाँहरूको काम परिपक्क हुन्छ र आफूले लगाएको काम सोचेको हुने उहाँ बताउनुहुन्छ । दयाहाङ राई, प्रवीण खतिवडा, विपिन कार्की, सौगात मल्ल, विजय बराल, दिया मास्के, पशुपति राई, सरिता गिरी रङ्गमञ्चकै उत्पादन हुनुहुन्छ । यी मात्र होइन भोला सापकोटा, कमलमणि नेपाल, लक्ष्मी बर्देवालगायतले अहिले नेपाली चलचित्रमा एक धारको नेतृत्व समालिरहनुभएको छ ।  

रङ्गकर्मीले चलचित्रमा अभिनय गर्नुलाई खासै नौलो मान्नुहुन्न कलाकार दिया मास्के । उहाँका अनुसार यसले नयाँलाई उत्साहित गरेको छ । नयाँ कलाकार रङ्गमञ्चमा धमाधम देखिन थाल्नुभएको छ । “चलचित्रले थिएटरलाई र थिएटरले चलचित्रलाई पूर्ण गरिरहेको छ,” उहाँले भन्नुभयो । थिएटरबाट आएका कलाकारले चलचित्रमा पनि अभिनय गरेको देखेर नै थिएटर राम्रो भइरहेको छ  ।

“चलचित्रमा गएको छ र त थिएटर सम्पन्न छ,” उहाँको भनाइ थियो । उहाँले अहिले पनि जीविकोपार्जनको हिसाबले थिएटरमा गाह्रो नै हुने बताउनुभयो । उहाँका अनुसार नर्वे, डेनमार्कतिर सरकारले नै रङ्गमञ्चलाई प्रायोजन गरेको हुन्छ तर यहाँ त्यो कहिले हुने हो अत्तोपत्तो छैन । रङ्गकर्मी पशुपति राई भन्नुहुन्छ, “आफू जुन क्षेत्रबाट आएको हो त्यही क्षेत्रका मान्छेले काम पाउनुभएको छ जुन राम्रो पक्ष हो ।” रङ्गकर्मीले गर्दा चलचित्र पनि धमाधम चल्न थालेका छन् । रङ्गकर्मीले मात्र होइन चलचित्रका कलाकारले पनि रङ्गमञ्चमा अभिनय गर्न रुचि देखाउन थालेको उहाँले बताउनुभयो । कलाकारले नाटक हेर्नु पर्छ भन्ने कुरा बल्ल बुझ्न थालेका छन् ।