• ३ पुस २०८१, बुधबार

नसर्ने रोगमध्ये मधुमेहका विरामी बढी, खानामा ध्यान दिन सुझाव

blog

काठमाडौँ, मङ्सिर २० गते । विश्वमा नसर्ने रोग (मुटु, मधुमेह, क्यान्सर, सिओपिडीको) को समस्या महामारीका रूपमा देखापर्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने गर्छ । 

हालै मात्र मन्त्रालयले सार्वजनिक गरेको नेपाल हेल्थ फ्याक्ट प्रतिवेदन २०२४ ले गत वर्षको तुलनामा यो वर्ष नसर्ने रोगको भार दोब्बरले बढेको देखाएको छ । स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार आर्थिक वर्ष २०८०-८१ मा नसर्ने रोगमध्ये मधुमेहका बिरामी सबैभन्दा बढी छन् । 

प्रतिवेदन अनुसार यो आर्थिक वर्ष पाँच लाख ८४ हजार ३४७ जना मधुमेहका बिरामी थपिएका छन्, जुन गत वर्षको तुलनामा दुई लाख ७२ हजार पाँचले बढी हो । गत आर्थिक वर्षमा तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएका थिए । 

यो आर्थिक वर्षमा दुई लाख ५९ हजार ११० जनामा दम, लगायतका श्वासप्रश्वास (सिओपिडी) सम्बन्धी समस्या देखिएको छ, जुन गत वर्षको तुलनामा ७३ हजार २५४ बढी हो । गत आर्थिक वर्षमा एक लाख ८५ हजार ८५६ सिओपिडीका बिरामी थपिएका थिए । 

मधुमेहलगायतका दीर्घरोग नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन गर्नुका साथै दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने गर्नुपर्छ ।

उक्त प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा ९७ हजार ३८७ जना क्यान्सरका बिरामी थपिएका छन्, जुन गत वर्षको तुलनामा ३० हजार पाँचले बढी हो । गत आर्थिक वर्षमा ६७ हजार ३८२ जना क्यान्सरका राेगी थिए । 

आर्थिक वर्ष २०७९-८० मा  ३० हजार ३३० जनामा मुटुसम्बन्धी विभिन्न समस्या देखिएको थियो, जुन गत आर्थिक वर्षको तुलनामा ११ हजार ६८ ले बढी हो । गत आर्थिक वर्षमा १९ हजार २६२ जना मुटुसम्बन्धी बिरामी थपिएका थिए । 

प्रदेश अनुसार बिरामीको अवस्था 

मुटुका बिरामी 

मुटुसम्बन्धी बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमती प्रदेशमा १० हजार ५३५ जना छन् । त्यसैगरी, कोशी प्रदेशमा सात हजार नौ सय, लुम्बिनी प्रदेशमा छ हजार चारसय, मधेश प्रदेशमा दुई हजार ३३० जना छन् । त्यस्तै, गण्डकी प्रदेशमा एक जार ९३, सुदूरपश्चिम प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ४३० जना छन् । 

मधुमेहका बिरामी 

मधुमेहका बिरामी सबैभन्दा बढी कोशी प्रदेशमा छन् । कोशी प्रदेशमा एक लाख ८६ हजार ३८७ छन् । त्यस्तै, बागमती प्रदेशमा एक लाख ७० हजार  १२६, लुम्बिनी प्रदेशमा ८६ हजार  ८०८, मधेश प्रदेशमा ५० हजार ६३५, गण्डकी प्रदेशमा ४७ हजार २९७, कर्णाली प्रदेशमा १७ हजार ९७८ र सुदूरपश्चिम प्रदेशमा २५ हजार ११६ जनामा मधुमेह भएको छ । 

सिओपिडीका बिरामी  

दम लगायत सिओपिडीसम्बन्धी समस्या सबैभन्दा बढी बागमती प्रदेशमा ७५ हजार ३३० जना छन् । त्यसैगरी, कोशी प्रदेशमा ५५ हजार ९५९, मधेश प्रदेशमा  १९ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार १९१, लुम्बिनी प्रदेशमा ३९ हजार २६१ जनामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । कर्णाली प्रदेशमा २१ हजार ९५ र सुदूरपश्चिम प्रदेशमा २९ हजार ९६६ जनामा सिओपिडीको समस्या देखिएको छ । 

 क्यान्सरका बिरामी 

क्यान्सरका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमती प्रदेशमा ८२ हजार ८२२ जना छन् । त्यसैगरी, कोशी प्रदेशमा १३ हजार ४३५ , लुम्बिनी प्रदेशमा ४३९, गण्डकी प्रदेशमा २८० जना छन् । त्यस्तै, मधेश प्रदेशमा २५९, कर्णाली प्रदेशमा ८३ र सुदूरपश्चिममा ६९ जना क्यान्सरका बिरामी छन् । 

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले नेपालमा नसर्ने रोगहरुका बिरामी बढ्दै जाँदा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताउनुहुन्छ । 

क्यान्सर, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगबाट अल्पायुमा हुने मृत्युलाई सन् २०२५ सम्म २५ प्रतिशत र सन् २०३० सम्म ३३ प्रतिशतले कमी ल्याउने सरकारको लक्ष्य छ । दिगो विकास लक्ष्य हासिल गर्न पाँच वर्ष समय बाँकी छ ।

नसर्ने रोग बढ्नुको कारण 

चिकित्सकका अनुसार धूम्रपान र मद्यपानको सेवन, शारीरिक कसरतको कमी, अस्वस्थकर खानेकुरा, तनाव, प्रदूषण नसर्ने रोग बढ्नुको प्रमुख कारण हो । खराब जीवनशैलीले मुटुरोग, मधुमेह, क्यान्सर, दम, मिर्गौलासम्बन्धी नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएको छ ।  


मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्य खराब जीवनशैली, मोटोपन, वंशाणुगत, खानपान, तनावले गर्दा मधुमेह रोग बढ्दै गएको बताउनुहुन्छ ।   क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही नसर्ने रोग बढ्नुको प्रमुख कारक तत्त्व सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक गतिविधिको कमी, मादक पदार्थको सेवन, अस्वस्थकर खानपान र खराब जीवनशैली रहेको बताउनुहुन्छ । 


सुर्तीजन्य पदार्थ र मादक पदार्थको प्रयोग, अस्वस्थकर खानपान, शारीरिक गतिविधिको कमीको कारण नसर्ने रोग बढ्दै  गएको अध्ययनले देखाएको छ। 

रोग लाग्न नदिन के गर्ने ? 

डा. शाक्यले नसर्ने रोगहरू लाग्न नदिन जीवनशैलीमा परिवर्तन ल्याउने, नियमित खानामा हरियो तरकारी, दाल, फलफूल समावेश गर्न सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “मधुमेहलगायतका दीर्घरोग नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन गर्नुका साथै दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने गर्नुपर्छ ।” 

उच्च रक्तचाप, मुटु तथा रक्तनलीको समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्याबाट टाढा रहने, धूम्रपान र मद्यपानको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउने हुँदा धूम्रपान नगर्न डा. शाहीको सुझाव छ । 

दैनिक सातदेखि  ९ घण्टा आराम गर्ने, तनाव कम लिने, खानपानमा ध्यान दिने गर्नुपर्छ ।

डा. शाही भन्नुहुन्छ, “दीर्घरोग लाग्न नदिन शारीरिक कसरतका साथै, समयमै सुत्ने र उठ्ने गर्नुपर्छ । दैनिक सातदेखि  ९ घण्टा आराम गर्ने, तनाव कम लिने, खानपानमा ध्यान दिने गर्नुपर्छ ।” 

स्वास्थ्य जीवनशैली अपनाएर नसर्ने रोगको कारणबाट अकालमा हुने मृत्युको रोकथाम गर्न सकिने चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोग हुन नदिन जीवनशैली परिवर्तन गरेमा, धूम्रपान मद्यपानको सेवन नगर्ने, तनाव नलिने, सन्तुलित भोजनको प्रयोग गर्ने हो भने ८० प्रतिशत रोगको भार कम हुनेछ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।