काठमाडौँ, कात्तिक २८ गते । पछिल्लो सयम मधुमेह संसारभर महामारीको रुपमा देखिँदै आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन लाख १२ हजार ३४२ जनामा, आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख ८४ हजार ३४७ जनामा मधुमेह पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा ५९ करोड मधुमेहका रोगी छन् भने नेपालमा ११ लाखभन्दा बढी मधुमेहका रोगी छन् ।
जोखिम समूहले रोग समयमा नै नियन्त्रण गरेनन् भने अबको २५ वर्षमा ५० प्रतिशतले मधुमेहका बिरामी बढ्ने विश्व स्वास्थ्य सङ्गठनले आँकलन गरेको छ ।
डायबिटिज, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले खराब जीवनशैली, मोटोपन, वंशाणुगत, खानपान, तनावले गर्दा मधुमेह रोग बढ्दै गएको बताउनुहुन्छ ।
मधुमेह अर्थात् डाइबेटिजलाई सामान्य भाषामा चिनी रोग भनिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि मधुमेह रोग लाग्ने डा.जोशी बताउनुहुन्छ । डा.जोशीका अनुसार शरीरमा प्याङ्क्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिनले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
कुनै कारणले प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सकेन भने मधुमेह हुने गर्छ । उहाँ भन्नुहुन्छ, “प्याङ्क्रियाज ग्रन्थिमा कुनै पनि समस्या उत्पन्न भई शरीरलाई आवश्यक पर्ने इन्सुलिन उत्पादन गर्न नसकी रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढ्ने प्रक्रियालाई मधुमेह भनिन्छ । रगतमा ग्लुकोजको मात्रा अत्यधिक हुँदा शरीर कमजोर हुँदै जान्छ ।”
यो रोग जुनसुकै उमेर समूहका मानिसलाई हुने भए पनि खराब जीवनशैली, मोटोपन, वंशाणुगत, उच्चरक्तचाप, कोलेस्टेरोल, धूमपान, खानपान, तनावले मधुमेहको जोखिम बढ्ने उहाँ बताउनुहुन्छ ।
मधुमेह टाइप वान, टाइप टु, जेस्टेसनल (गर्भावस्थामा) हुने गर्छ । सामान्य मानिसको सुगर खाली पेटमा एक सय मिलिग्राम भन्दा तल र खाना खाएर १४० मिलिग्रामभन्दा तल हुने गर्छ । यदि खाली पेटमा सुगर १२५ भन्दा माथि र खाना खाएर १४० भन्दा माथि भएमा मधुमेहको जोखिममा हुने गर्छ ।
यदि नर्मल सुगर १२५ भन्दा माथि र खाएर २०० भन्दा माथि भएमा मधुमेह भएको मान्न सकिन्छ । ५० प्रतिशत बिरामीमा कुनै पनि लक्षण देखिँदैन ।
आधा मानिसमा छिटो, छिटो पिसाब, तिर्खा, बढी भोक लाग्ने, शरीरको वजन घट्ने, थकाइ महसुस हुने, शरीर कमजोर हुने लामो समयसम्म चोटपटक निको नहुने, हातखुट्टा झमझमाउने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिन्छन् ।
जीवनशैली परिवर्तन, तौल नियन्त्रण, नियमित व्यायाम, सन्तुलित र नियमित भोजन लिने, मानसिक तनाव घटाउने, पर्याप्त सुत्ने गर्दा मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेहबाट बच्न धूमपान र मद्यपान त्याग्ने र बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्ने उहाँको सुझाव छ ।
विश्व मधुमेहको अवसरमा मधुमेह रोगको विषयमा केन्द्रित भई डायबिटिज, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.अंशुमाली जोशीसँग गरिएको भिडियो संवाद
भिडियो : केशव गुरुङ