• २६ कात्तिक २०८२, बुधबार

निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, कात्तिक २६ गते । जाडो मौसममा निमोनियाको समस्याले सताउने गर्छ । निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।    

बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं जाडोमा बालबालिकालाई निमोनियाले बढी दुःख दिने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “सास फेर्न गाह्रो हुने, ज्वरो आउने, रुघाखोकी  जस्ता लक्षण लिएर अस्पतालमा आउने बिरामीको एक्सरे गर्दा छातीमा निमोनिया देखिने गरेको छ ।”

जाडोमा तापक्रम घटेसँगै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा बालबालिकामा निमोनियाको जोखिम बढ्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार निमोनिया पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । 

निमोनिया कस्तो रोग हो ?

चिकित्सकका अनुसार निमोनिया फोक्सोमा हुने सङ्क्रमण हो । निमोनियाले फोक्सोमा असर गर्ने बालरोग विशेषज्ञ डा. चापागाईँ बताउनुहुन्छ ।  “ निमोनिया भएमा फोक्सोभित्र भएका ससाना हावाका थैलीहरुमा तरल पदार्थ भरिएर श्वास फेर्न कठिनाइ भई शरीरमा आवश्यक पर्ने अक्सिजनको मात्रामा कमी हुन्छ” , उहाँ भन्नुहुन्छ ।

निमोनिया ब्याक्टेरिया, भाइरस (ढुसी), फङ्गसको सङ्क्रमणले गर्दा लाग्ने डा.चापागाईँको भनाइ छ ।  मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका जीवाणु श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हुने गर्छ । 

सङ्क्रमितले हाच्छिउँ गर्दा वा खोक्दा थुक र सिँगानको छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा निमोनिया सर्छ । उहाँका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका कुपोषित र जन्मदै कम तौल भएका बालबालिका निमोनिया हुने जोखिम बढी हुन्छ । 

लक्षण डा.चापागाईंका अनुसार खोकी लाग्ने, छिटो छिटो सास फेर्ने, छाती दुख्ने, छाती घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, शरीरमा कम्पन आउने निमोनियाका प्रमुख लक्षण हुन् ।

त्यसका बाहेक श्वास लिँदा वा छोड्दा आवाज आउने, झोलिलो पदार्थ पिउन नसक्ने, दूध चुस्न नसक्ने, धेरै सुतिरहने वा ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने लक्षण बालबालिकामा देखिन्छन् । निमोनिया भएका बच्चामा अन्य स्वास्थ्य समस्या जस्तै झाडापखाला, दादुरा, औलो, कुपोषण देखिने सम्भावना बढी हुन्छ । 

बच्चामा निमोनियाका लक्षण देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान डा.चापागाईँको सुझाव छ । निमोनिया हुनबाट बचाउन बालबालिकालाई पूर्ण खोप लगाउनुका साथै पूर्ण स्तनपान गराउन डा.चापागाईँको आग्रह छ । 

निमोनिया भएका बालबालिकालाई पोषिलो, झोलिलो खानेकुरा खुवाउने, पटक पटक स्तनपान गराउन, बच्चालाई नगुम्स्याई न्यानो पारेर राख्ने, धुवाँ धुलोबाट बचाउन चापागाईँको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।