• १४ वैशाख २०८३, सोमबार

सिन्धुपाल्चोकमा २४१ वटा इसाई मण्डली विस्तार

blog

बाह्रबिसे नगरपालिका स्तरीय बाह्रबिसे नगर इसाई समाजका सर्वसहमत छनोट भएका कार्यसमिति लगायत । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, मङ्सिर ६ गते ।
सिन्धुपाल्चोकमा इसाई धर्मावलम्बीहरुको २४१ वटा मण्डली विस्तार भएको छ । बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त सङ्ख्यामा इसाई धर्मसम्प्रदायको मण्डली विस्तार भएको जनाइएको छ ।

तीन नगरपालिका नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकका १०३ वटा वडामा इसाई मण्डली विस्तार भएको सिन्धु इसाई एकता समाजका अध्यक्ष कमलबहादुर न्यौपाने (एलिया न्यौपाने) ले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकामा २४ वटा, मेलम्ची नगरपालिकामा २५ वटा, चौतारा साँगाचोकगढी नगरपालिकामा २८ वटा, भोटेकोशी गाउँपालिकामा २२ वटा, सुनकोशी गाउँपालिकामा २४ वटा इसाई मण्डली रहेको पाष्टरसमेत रहनुभएका न्यौपानेले बताउनुभएको छ ।

त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकामा १२ वटा, जुगल गापामा २१ वटा, इन्द्रावती गापामा २५ वटा, पाँचपोखरी थाङपाल गापामा १० वटा, बलेफी गापामा १० वटा, लिसंखुपाखर गापामा १३ वटा, हेलम्बु गापामा १६ वटा इसाई मण्डली बिस्तार भएको उहाँले बताउनुभयो । 

सबै धर्मप्रति धार्मिक सहिष्णुता कायम राख्ने, सामाजिक विकृति र भेदभाव समाधान गर्ने, इसाई धर्मावलम्बीका हकअधिकार स्थापित गराउने, मानव कल्याण लगायतका विभिन्न कामहरु सिन्धुपाल्चोकमा इसाईहरुले गर्दे आइरहेको बाह्रबिसे नगरपालिका स्तरीय बाह्रबिसे नगर इसाई समाजका सचिव कृष्णबहादुर रसाइलीले बताउनुभएको छ । मङ्सिर ५ गते भीम कौशिलाको अध्यक्षतामा बाह्रबिसे नगर इसाई समाजको सर्वसहमत कार्यसमिति छनोट गरिएको छ । इसाई धर्म सम्प्रदायका लागि बाह्रबिसे नगरपालिकाले नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेर हकहितका काम गर्दे आएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।