काठमाडौँ, कात्तिक २५ गते । जाडोयाम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अस्पतालमा यकिन तथ्याङ्क नभए पनि अन्य समयको तुलनमा रुघाखोकी लागेर अस्पताल आउने सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “ पछिल्लो सयम रुघाखोकीको कारणले अस्पताल आउने सङ्ख्या बढ्दो छ । अस्पतालमा आउने बिरामीको सङ्ख्याभन्दा बिरामीको सङ्ख्या घर-घरमा बढी रहेको अनुमान छ ।” रुघाखोकी लागेर, ज्वरो आएर, खान मन नलाग्ने, घाँटी दुख्नेजस्ता समस्या लिएर बिरामी अस्पतालमा आउने डा. पुनको भनाइ छ । परीक्षण नभए पनि मौसमी फ्लु (इन्फ्लुएन्जा) को कारणले रुघाखोकीको समस्या बढ्दै गएको डा. पुनको भनाइ छ ।
फ्लु कस्तो रोग हो ?
फ्लु भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । डा. पुनका अनुसार मौसमी फ्लुले ( इन्फ्लुएन्जा ) वर्षमा दुई पटक बढी दुःख दिने गर्छ । जाडो महिनामा यो भाइरस बढी सक्रिय हुन्छ । यो भाइरसले सबै उमेर समूहका मानिसलाई सङ्क्रमण गराउँछ । मौसमी फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । नेपालमा ‘ए’ र ‘बी’ भाइरसले बढी दुःख दिन्छ ।
फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीको रूपमा देखिँदै आएको छ । ए अन्तर्गत एचथ्री एन टु अर्थात् हङकङ फ्लु पर्छ । यो फ्लु सामान्य रुघाखोकी भन्दा घातक हुने गर्छ । यसले गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने गर्छ ।
लक्षण
सङ्क्रमणले गर्दा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको, मांसपेशी, जोर्नी दुख्ने, नाकबाट सिगान बग्ने, नाक बन्द हुनु, थकान महसुस हुने जस्ता लक्षण देखिने डा. पुन बताउनुहुन्छ । फ्लुको सङ्क्रमणले बालबालिकामा बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । डा. पुनका अनुसार सामान्यताय मौसमी फ्लुका लक्षण एक हप्तादेखि १० दिनमा आफैं हराउँदै जान्छ । खोकीले भने दुई हप्ता वा त्योभन्दा बढी समय दुःख दिने गर्छ ।
जोखिम समूह
मौसमी फ्लुले दीर्घ श्वासप्रश्वासका बिरामी जस्तै दम, निमोनियाका बिरामी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक कम भएका मानिस, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई जटिल स्वास्थ्य समस्या निम्त्याइ अस्पतालमा भर्नादर बढाउने डा. पुनको भनाइ छ ।
रोग कसरी सर्छ
सङ्क्रमण भएका मानिसले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा एक मानिसबाट अर्कोमा सर्छ । ती छिटा सासका माध्यमबाट फोक्सोमा पनि जान सक्छन् ।
उहाँका अनुसार हातले र्याल, सिगान, थुक हातले छोएर नाक, मुख वा आँखामा छोएमा सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा सर्छ । मौसमी फ्लुबाट सङ्क्रमित भएमा भिडभाडमा नजाने र जानै परेमा मास्क लगाएर मात्र जान उहाँले आग्रह गर्नुभयो ।
साथै, यस्ता सङ्क्रमणबाट बच्न खोक्दा मुख हातको बाहुलाले छोप्ने, जथाभावी नथुक्ने, साबुनपानीले हातधुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउन डा. पुनको सुझाव छ।
जथाभावी औषधी नखान आग्रह
मौसमी फ्लुबाट सङ्क्रमित हुनासाथ जथाभावी औषधी किनेर नखान उहाँको आग्रह छ । उहाँ भन्नुहुन्छ, “धेरैले रुघाखोकी लाग्नासाथ आफूखुसी औषधी खाने प्रचलन बढ्दै गएको छ ।
सामान्य रुघाखोकी लाग्नासाथ एन्टिबायोटिक खाँदा थप जटिल स्वास्थ्य समस्या निम्तिने गर्छ ।” दीर्घरोगीले भने सामान्य रुघाखोकी लाग्नासाथ चिकित्सक परामर्श लिन उहाँले अनुरोध गर्नुभयो । सामान्य मानिस सङ्क्रमित भएमा झोलिलो खानेकुरा खाँदै घरमा आराम गर्दा आफैं निको हुँदै जान्छ । औषधी खानैपरेमा स्वास्थ्यकर्मीको परामर्शमा मात्रै खान उहाँको सुझाव छ ।
बच्ने उपाय
मौसमी फ्लुबाट बच्न बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, खोक्दा हाच्छिउँ गर्दा मुख र नाक छोप्न, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त पौष्टियुक्त खाना र झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै आराम गर्ने, बेला-बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । हातले आँखा, नाक वा मुख नछुन उहाँले आग्रह गर्नुभयो । फ्लुविरुद्धको खोपले सङ्क्रमण भए पनि यसबाट हुने जोखिम कम गर्ने हुँदा यो विरुद्धको खोप लगाउन उहाँको सुझाव छ ।