काठमाडौँ, मङ्सिर ४ गते । जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ ।

वीर अस्पतालको सर्जिकल भवनको बेड नम्बर १९० मा उपचाररत बझाङका २० वर्षीय पारस बोहोरा केही महिना अघि कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो ।
कोरिया गएर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बुन्नुभएका बोहोराले कोरियन भाषाको परीक्षाको पर्खाइमा हुनुहुन्थ्यो ।
जेनजी आन्दोलन हुने थाहा पाएपछि देशमा नै केही परिवर्तन भएमा स्वदेशमा नै राम्रो काम पाइने आशामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी हुनुभयो । उहाँलाई भदौ २४ गते कालिमाटीमा गोली लागेको हो ।
विगत दुई महिनादेखि परीक्षाको तयारीको साटो गोली लागेको शरीरमा उपचारमा उहाँको समय बित्ने गरेको छ । उहाँलाई गोली लागेपछि शरीरमा पीडाका साथै आर्थिक घाउले बेलाबेला पिरोल्ने गरेको उहाँले सुनाउनुभयो ।

पारस भन्नुहुन्छ,“बोल्न गाह्रो हुन्छ, झोलिलो बाहेकको खानेकुरा खान सक्दिनँ, सबैभन्दा गाह्रो औषधीको पैसा जुटाउन छ । आफूले कमाउन पनि सक्दिनँ ।घरमा कमाउने कोही छैनन् ।”
बेलाबेलामा गोली लागेको ठाउँमा पोलेर रुनु न हाँस्नु बनाउने उहाँ सुनाउनुहुन्छ । उहाँको घाँटी र छातीमा गोलीको छर्रा बाँकी छन् ।
‘न शरीर काम गर्ने अवस्थामा छ न त कोरिया जाने सपना नै पुरा भयो’, भविष्यमा के गरेर जीविकोपार्जन गर्ने भनेर उहाँ पिराेलिनु हुन्छ । उहाँ जस्तै ह्वाइट हाउस कलेजमा प्लस टु सकेर कपडा पसलमा काम गरेर गुजारा चलाउँदै आउनु भएका बाजुराका २१ वर्षीय साजन रोकायाको आधिकांश सयम शरीरमा लगाइएका टाँका सिलाई–फुकाईमा नै बित्ने गरेको छ ।
भदौ २३ गते साजन रोकायाले सोच्नुभएको थिएन यस्तो अवस्था आउँछ भनेर । देश बदल्न हिँड्नुभएका उहाँको शरीर चल्नै नसक्ने गरी बदलिएको छ ।

सोही दिनमा उहाँका शरीरमा चारवटा गोली लागेको थियो । घाइते भएपछि उहाँलाई तीन दिन आइसीयुमै राखेर उपचार गरिएको थियो ।
आन्दोलनमा जानु भएका उहाँलाई दुई दिनपछि पछि मात्र होस आएपछि मात्र देशमा के के भयो भनेर उहाँ नेपालमा परिवर्तन भयो भने भविष्य राम्रो हुन्छ भनेर आन्दोलनमा सहभागी हुनुभएको थियो । भदौ २३ गते आन्दोलनको पहिलो दिन नै शरीरमा चार वटा गोली लाग्यो ।
चार पटकको अस्पताल बसाइमा तीन वटा गोली निकालिए, फोक्सोको छेउमा गोली निकाल्न अझै बाँकी रहेको उहाँले सुनाउनुभयो ।
उहाँ भन्नुभयो, “शरीरभित्र अझै गोलीका छर्रा बाँकी छन् । आफैँ हिँड्न सक्ने अवस्था छैन । काठमाडौँमा खाना, बस्न, भाडा तिर्न खर्च जोहो गर्न धाैधाै छ । अस्पताल आउँदा जाँदा खर्च उस्तै हुन्छ । के गरेर गुजार गर्ने भनेर चिन्ताले सताउँछ । आफू अपाङ् भइयो । अब गरेर खान सक्दिनँ भन्ने चिन्ताले सताउँछ ।”
ऋण गरेर उपचार
घाइतेको उपचार लामो समय चल्ने चिकित्सक बताउँछन् । एकातिर उपचारको पीडा, अर्कातिर खर्चको पहाडले उहाँहरुको दैनिकी कष्ठकर बन्दै गएको छ ।
सरकारले घाइतेको निःशुल्क उपचार घोषण गरे पनि अस्पतालमा फलोअप गर्न आउँदा जाँदा, अस्पतालको फार्मेसीमा नपाइने औषधी अस्पताल बाहिर किन्दा पैसाले नपुगेर ऋण गर्ने गरेको घाइतेले सुनाउनुभयो ।
उपचार खर्च अस्पतालले गरे पनि उपचारमा आवश्यक महंगा औषधी अस्पतालको फार्मेसीमा नपाउँने अस्पताल बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको घाइते साजन रोकाया सुनाउनुहुन्छ ।
उहाँले सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषण गरे पनि चिकित्सकले लेखिदिएका महंगो औषधी अस्पतालको फार्मेसीमा नपाउँदा बाहिरबाट किनेर ल्याउँदा खर्च धान्न धाैधाै पर्ने सुनाउनुभयो ।
त्यस्तै, घाइते पारस बोहोराले सरकारले घोषण गरेको निः शुल्क उपचार कागजमा मात्र सिमित रहेको गुनासो गर्नु भयो ।
आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा आउँजाउँ गर्ने खर्च अरुसँग सापटी मागेर गुजार चलाइ रहेको उहाँले सुनाउनुभयो ।
घाइतेको वर्गीकरण गरेर राहत उपलब्ध गराउँछौँ
वीर अस्पताको अनुगमनको क्रमममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनमा घाइते भएका बिरामीलाई भेटेर घाउ चोटको आधारमा बिरामीको वर्गीकरण गरेपछि के कस्तो राहत आवश्यक पर्छ त्यही अनुसार उपलब्ध गराउने आश्वसन दिनुभएको छ ।

उहाँका अनुसार सिडियोको संयोजकत्वमा जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण भइरहेको छ । उहाँले अस्पतालका निर्देशकलाई उपचारमा कुनै पनि समस्या आएर तुरुन्त समाधान गरिदिन आग्रह गर्नुभयो ।
साथै, बिरामीलाई आवश्यक पर्ने औषधी अस्पतालको फार्मेसीभन्दा बाहिरबाट ल्याएको भए पनि अस्पतालमा बिल पेस गरेमा भुक्तानी हुने मन्त्री गौतमले बताउनुभयो ।
सरकारले जेनजी आन्दोलनका दुई हजार २३९ घाइतेलाई जनही १५ हजार रुपियाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।