काठमाडौँ, कात्तिक १० गते। सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट मेडिकल कलेज तनावग्रस्त भएको छ।
खोटाङ घर भएकी ३४ वर्षीया मीनाश्री राईको मृत्यु भएपछि आफन्तले सुत्केरी गराउने क्रममा लापरबाही भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन र तोडफोड गरेका हुन्।
मृतकका आफन्तले ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मीनाश्री राईलाई न्याय दे’ भन्दै प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई अस्पताल बाहिर निकालेर स्थिति नियन्त्रणमा लिएको छ।
अस्पतालमा भएको के हो ?
खोटाङ घर भएकी मीनाश्री राई कात्तिक ७ गते किष्ट अस्पतालमा सुत्केरी हुन भर्ना हुनुभएको थियो।
उहाँले सुरुवातीचरणदेखि नै किष्ट अस्पतालमा गर्भको चेजजाँच गराउँदै आउनु भएको थियो। चिकित्सकले आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य भएकाले नर्मल डेलिभरी हुने आवश्वसन दिएका थिए।
चिकित्सकको सल्लाह अनुसार नै राई कात्तिक ७ गते बिहान अस्पतालमा भर्ना हुनुभएको उहाँका दाइ देवेन्द्र राईले जानकारी दिनुभयो।
उहाँ भन्नुहुन्छ, “कात्तिक ७ गते बहिनी आफै हिँडेर अस्पताल पुगेकी थिइन्। साँझ ५ बजेसम्म पनि बहिनीलाई खाजा खुवाएर हामी अस्पतालबाट निस्केका थियौं। त्यो बेलासम्म अस्पतालले नर्मल डेलिभरी हुने आश्वासन दिएको थियो। अस्पतालको चरम लाप्रबाही गरेको कारणले नै बहिनीको मृत्यु भएको हो।”

आफ्नो बैनीलाई कुनै पनि दीर्घ रोग नभएको बताउँदै चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा घाउ भएर रगत बगेर बहिनीको मृत्यु भएको देवेन्द्रको आरोप छ।
अस्पतालले उच्च रक्तचाप भएर मृत्यु भयो भन्ने जवाफ दिएको छ। ‘सुविधासम्पन्न अस्पतालमा रक्तश्रावले मृत्यु भयो भन्नु कतिको जायज हो ?’ उहाँले प्रश्न गर्नुभयो।
उहाँ भन्नुहुन्छ, “सामान्य हेल्थपोस्टमा बच्चा जन्मिन्छ भने यस्त्रो ठुलो अस्पतालमा कसरी मृत्यु भयो ? केही समयस्या थियो भने पहिले नै हामीलाई किन जानकारी नगराएको हो ?”
मृत्यु भइसकेपछि पनि धेरै समयसम्म बहिनीलाई भेट्न नदिएको उहाँको भनाइ छ।
राति १२ बज्नै लाग्दा अस्पतालले रगत खोज्न पठाएको आरोप परिवारको छ। ‘यत्रो ठुलो अस्पतालले जब आपत पर्छ तबमात्र किन रगत खोज्न पठायो ? यहाँ किन ब्लर्ड बैँक छैन ? रगत मागेपछि हामीले बहिनी बचाउन महङ्गो शुल्क तिरेर रगत ल्यायौ तर पनि बचाउन सकिएन’, उहाँले थप्नुभयो।
किष्ट अस्पताल प्रशासनले भने सुत्केरी गराउने क्रममा महिलाको मृत्यु भएको भन्दै लापरबाही नगरेको दाबी गरेको छ। अस्पतालका एक चिकित्सकले उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्।
मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सक सार्वजनिक भएर के कारणले मृत्यु भयो भनेर प्रष्ट नपारेको गुनासो गरेका छन्।