काठमाडौँ, कात्तिक १६ गते। मौसम परिवर्तनसँगै बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्दछन्।यो मौसममा सङ्क्रमणजन्य रोगका साथै श्वासप्रश्वास सम्बन्धी समस्याले बालबालिकालाई बढी दुःख दिने चिकित्सक बताउँछन् ।
यो मौसममा बालबालिकालाई सामान्य रुघाखोकीदेखि घाँटी दुख्ने, टाउको दुख्ने, आँसु बगिरहने, पखाला लाग्ने, पेट दुख्ने, वान्ता हुने, खाना नरुच्ने जस्ता स्वास्थ्य समस्या निम्तिने कान्ति बाल अस्पतालमा बालरोग विशेषज्ञ डा.राजकुमार बिक बताउनुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा बढी स्वास्थ्य समस्या निम्तिने उहाँको भनाइ छ। पाँच वर्ष मुनिका बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, लामो समय गुम्म कोठामा बस्ने, भिडभाडमा जाने, दम, निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या भएका बालबालिकामा सङ्क्रमणजन्य रोगको जोखिम बढी हुन्छ ।
सङ्क्रमणले गर्दा नाकबाट सिँगान बगिराख्ने, घाँटी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, डाइरिया हुने जस्ता सामान्यदेखि जटिल लक्षण देखिने डा.राजकुमारको भनाइ छ ।उहाँका अनुसार रोगको प्रकृति अनुसार लक्षण पनि भिन्न भिन्न हुने गर्छन् ।
यदि भाइरल इन्फेक्सनको कारणले सङ्क्रमण भएको भए निको हुन एकदेखि दुई साता लाग्ने गर्छ । कतिपय अवस्थामा निको हुन एक महिनासम्म पनि लाग्न सक्छ ।
सामान्य रुघाखोकी लाग्दैमा एन्टिबायोटिक र खोकीको औषधी आफूखुसी किनेर नखुवाउन उहाँको सुझाव छ । यस्तो समस्या देखिएमा कागती, तुलसी पानी पकाएर खुवाउने, भिक्स लगाउने, चिकित्सकको सल्लाह अनुसार औषधी खुवाउने प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाएर घरमा नै आराम गर्दा पनि धेरैजसाे स्वास्थ्य समस्या निको हुने गर्छ ।
यदि बालबालिकामा घ्यारघ्यार बढेको छ, उच्च ज्वरो आएको छ, कोखा हान्ने, बोल्न गाह्रो हुने, झाडापखाला लाग्ने, जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैकौ स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ ।
बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो।उहाँ भन्नुहुन्छ,“बालबालिकालाई सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिने, भिडभाडमा नलैजाने, मास्क लगाउने, ताजा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउने, मौसमी फलफूल राम्रोसँग सफा गरेर खान दिने गर्नुपर्छ ।”
जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई कान्तिबाल अस्पतालमा बालरोग विशेषज्ञ डा.राजकुमार बिकसँग गरिएको भिडियो संवाद :
भिडियो : केशव गुरुङ