• ७ पुस २०८१, आइतबार

माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको प्रमाणित गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

blog

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ। फाइल तस्बिर

तनहुँ, मङ्सिर १८ गते। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताउनुभएको छ। 

नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत साबित गरिदिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब नयाँ ढङ्गबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गर्नुभयो। माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइरालाले पार्टीप्रति जनताको भरोसालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सम्मेलनले नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो।