• ११ माघ २०८१, शुक्रबार

भरतपुर महानगरपालिका

blog

नेपालमा छ वटा महानगरपालिका छन् । तिनैमध्येको एउटा हो भरतपुर महानगरपालिका । यो महानगरपालिका चितवनमा पर्छ । भरतपुर महानगरपालिकाको पश्चिममा नारायणी नदी, दक्षिणमा राप्ती नदी र पूर्वमा टिकौली जङ्गल पर्छ । यसको पूर्वमा रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका, पश्चिममा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र नवलपरासी, उत्तरतर्फ तनहुँ पर्छ । भरतपुर समुद्री सतहबाट १४० देखि ३९० मिटर उचाइमा रहेको छ । यसको क्षेत्रफल ४३२.९५ वर्गकिलोमिटर रहेको छ । 

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार भरतपुरमा तीन लाख ६९ हजार २६८ जनसङ्ख्या छ । एक लाख ७८ हजार ८९७ पुरुषको र एक लाख ९० हजार ३७१ महिलाको सङ्ख्या छ । परिवार सङ्ख्या ९६ हजार ५९१ रहेको भरतपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर २.६४ प्रतिशत छ । यो महानगरको साक्षरता दर ८७.२० प्रतिशत छ । पुरुष साक्षर ९२.१२ प्रतिशत र महिला साक्षर ८२.६४ प्रतिशत रहेको छ ।  जम्मा २९ वटा वडा रहेको भरतपुरमा ११२ वटा सामुदायिक र ९१ वटा संस्थागत विद्यालय छन् । भरतपुरमा धार्मिक विद्यालयको सङ्ख्या पाँच वटा छ भने विशेष विद्यालयको सङ्ख्या तीन वटा छ । भरतपुरका विद्यालयमा एक लाख एक हजार ६६ विद्यार्थी अध्ययनरत छन् । 

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै चर्चित निकुञ्जमा पर्छ । यो निकुञ्जले महानगरलाई छोएको छ । बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । यो महानगरबाट निकुञ्ज प्रवेश गर्ने जगतपुर, पटिहानी र मेघौलीमा गरी तीन नाका छन् ।

रामसार क्षेत्रमा सूचीकृत बीसहजारी ताल, धार्मिक क्षेत्र देवघाट, गणेशधामलगायतका धार्मिक क्षेत्रसमेत नजिकै रहेकाले यो महानगर पर्यटकीय नगरीका रूपमा पनि परिचित छ । भरतपुरको विशेषता नै पर्यटकीय क्षेत्र हो । यसबाहेक जनजाति तथा सीमान्तकृत वर्गका समुदायको पनि यहाँ बाक्लो बसोबास रहेको क्षेत्र छ । यस महानगरको वडा नं. २९ कविलास चेपाङको बाहुल्य रहेको क्षेत्र हो भने वडा नं. २८ बोटे कुमालको बाहुल्य रहेको क्षेत्र हो । दुई वटा ठुला मेडिकल कलेज, क्यान्सर अस्पताल र केन्द्रीयस्तरको भरतपुर अस्पताल रहेको भरतपुर स्वास्थ्य र शिक्षाका दृष्टिले पनि आकर्षित क्षेत्र हो । यहाँ कृषि तथा वन विश्वविद्यालय पनि रहेको छ । 

२०१३ सालमा राप्ती दून परियोजना सुरु भएसँगै बसोबास विस्तार भएको चितवनको सदरमुकाम भरतपुर २०३५ सालमा भरतपुर नगर पञ्चायत, २०४८ सालमा भरतपुर नगरपालिका, २०७१ मङ्सिर १३ गते उपमहानगरपालिका र २०७३ फागुन १७ गतेबाट महानगरपालिका भएको हो । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रले विकसित बनेको भरतपुर महानगर पछिल्लो समय भौतिक निर्माणमा पनि अगाडि देखिएको छ । 

    मुना