• ८ मंसिर २०८१, शनिबार

रुमलिएको कथा ‘ह्रस्व दीर्घ’

blog

काठमाडौँ, मङ्सिर ८ गते । नेपाली चलचित्रमा अझै पनि भारतीय कलाकारको भिड बटुलेर चलचित्र चलाउँछु भन्ने प्रवृति हटेको छैन । चलचित्र ‘ह्रस्व दीर्घ’ यसको उदाहरण हो । कुनै बेला चलचित्र नोटबुकको ‘गाला रातै गाला रातै’ बोलको गीतबाट चर्चा कमाउनुभएकी नायिका निता ढुङ्गाना निर्मित चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि केवल भारतीय कलाकारलाई भेला पार्ने काम मात्र गरेको छ । 

चलचित्रको कथा सामान्य छ । मेयर (विपना थापा) को छोरा हरि (हरिहर अधिकारी) र देवधाम चलाउने महामहन्त (प्रदीप रावत) की छोरी नारायणी (नीता ढुङ्गाना) बिचको प्रेमकथा हो ‘ह्रस्व दीर्घ’ । हरि भगाउ डटकमका सञ्चालक हुन्छन् । उनका साथी काले (आदर्श मिश्र) दुवै मिलेर दुःखमा परेकालाई मद्दत गर्ने काम गर्छन् । यस्तै काम गर्दागर्दै उनको भेट अनौठो तरिकामा नारायणीसँग हुन्छ । मन्दिरको पोखरीमा चिप्लियर लड्न लागेकी नारायणीलाई हरिले बचाउँछन् । संयोगले हरिको हात नारायणीसँग २४ घण्टासम्म जोडिन पुग्छ  २४ घण्टा दुवैसँगै रहँदा अनेकन घटना घट्छन् । यसपछि चलचित्रको कथाले अनेकन मोड लिन्छ । दुवैको प्रेमलाप सुरु हुन्छ । दुवैको परिवारलाई उनीहरूको प्रेमबारे थाहा हुन्छ । महामहन्तले हरिको आमासँग प्रदीपलाई एक महिना धाममा बस्नुपर्ने सर्त राख्छन् र हरिको आमाले पनि नारायणीलाई आफूलाई एक महिनासम्म राख्ने सर्त राख्छिन् । दुवैलाई सर्त स्विकार्य हुन्छ । हरिको विवाह नारायणीसँग हुन्छ वा हुन्न ? यही कुरामा रुमलिएको छ चलचित्रको कथा । 

हरिले महामहन्तलाई प्रभावित बनाउन सक्लान त ? यता नारायणी हरिको आमासँग कति घुलमिल हुन सक्छिन् । एक महिना समय पनि सकिन्छ र कथामा अर्को मोड तब आउँछ जब नारायाणीले आफ्नी बहिनी (गरिमा शर्मा) कसको मद्दतले भागिन् र उनलाई मर्नुपर्ने अवस्था कसले सिर्जना गरेको हुन्छ भन्ने थाहा पाउँछिन् । मरिसकेकी बहिनीले कथामा अनेकन ट्विस्ट ल्याउने काम गर्छिन् । 

चलचित्रको राम्रो पक्ष भनेकै दक्षिण भारतीय कलाकारहरूको अभिनय र यसको सिनेमाटोग्राफी हो । चलचित्रमा साधारण दृश्यलाई पनि सिनेमाटोग्राफरले मेहनत गरेर खिच्नुभएको छ । चलचित्रको कमजोर पक्ष भनेको यसको कथा हो । निता ढुङ्गाना र हरिहर अधिकारीको भूमिकालाई ठिकठाक भन्नु पर्छ । आमाको भूमिकामा विपना थापा र सञ्चिता लुइँटेललाई सुहाएको छ । गरिमा शर्माको अभिनयमा केही मात्रामा भए पनि सुधार आएको देखिन्छ । भावनात्मक दृश्य उहाँलाई सुहाएको छ ।

दक्षिण भारतीय चलचित्रमा सधैँ हसाइरहने भूमिकामा देखिएका भारतीय अभिनेता ब्रह्मानन्दमको अभिनयमा धेरै आशा गरिएको थियो जुन आशा निराशामा बदलिएको छ । अभिनयमा पर्फेक्ट भए पनि उनको हसाउने शैली चलचित्रमा फितलो छ । दक्षिण भारतीय चलचित्र र गजनी फेम प्रदीप रावतको  अभिनयबाट नेपाली दर्शक प्रभावित बनेका थिए र ‘ह्रस्व दीर्घ’ मा पनि उनको अभिनय प्रशंसायोग्य छ । हरिको साथी बनेका आदर्श मिश्र र नारायणीको साथी बनेकी लक्ष्मी पौडेलको अभिनयमा खासै तुक छैन । उनीहरूलाई चलचित्रमा अनुहार देखाउन मात्र राखिएको हो जस्तो भान हुन्छ । 

चलचित्रको दृश्य, गीतसङ्गीतले अवश्य नै दर्शकको मन छुन्छ । चलचित्र मुख्य खस्किएको भनेकै यसको कथा र पटकथामा नै हो । चलचित्र विभिन्न कथामा रुमलिएको छ । ज्योतिष हरिहर अधिकारीले चलचित्रको कथामा अझ बढी समय बिताएका भए चलचित्र हेर्नलायक बन्थ्यो कि ?