• १० माघ २०८१, बिहिबार

सबैका लागि सधैंका लागि खुल्दैछ खुलामञ्च

blog

काठमाडौं, मङ्सिर ७  गते । खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दूबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ । 

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहका सचिवालय सदस्यसमेत रहनुभएका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार आगामी चैतसम्म खुलामञ्च सबैका लागि सधैं खुला गर्ने तयारीका साथ काम अघि बढेको छ ।

उहाँले भन्नुभयो, “सामान्यतया यहाँ लेबलिङ गरियो । बर्खा महिनामा पनि हिलो नहुने तरिकाले काम भइरहेको छ । प्राकृतिक दूबो सिडिङ भइरहेकोे छ । यो दुबोको लाइफ लङ हुने, माटोलाई बढी क्याच गर्ने हुन्छ ।” फुटबल मैदानहरुमा प्रयोग हुने किसिमको दूबो त्यहाँ रोपिएको उहाँको भनाइ छ । 

महानगरको सार्वजनिक निर्माण विभागअन्तर्गत खुलामञ्च निर्माणको काम भइरहेको हो । अघिल्लो वर्ष सरसफाइका क्रममा चारसय ट्रिपर ढुङ्गा खुलामञ्चबाट फालिएको थियो । गत जेठदेखि खुलामञ्चभित्र व्यवस्थापनको काम सुरु भएको हो । त्यतिबेला वर्षाको कारण काममा अवरोध भयो । दसैँ यता भने तीव्ररुपमा काम अघि बढेको उहाँको भनाइ छ ।

पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार आगामी चैतसम्म खुलामञ्च सबैका लागि सधैं खुला गर्ने तयारीका साथ काम अघि बढेको छ ।

उहाँका अनुसार ४६ रोपनी क्षेत्रफलमा रहेको खुलामञ्च व्यवस्थापनका लागि झण्डै एक करोड रुपियाँ रकम छुट्याइएको छ । यद्यपि बाहिर सुनिएजस्तो फुटबल मैदान मात्र बनाउन खाेजेको भन्ने कुरामा सत्यता नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “फुटबल मैदान भनेर चाहिँ गलत प्रचार गरेको हो । फुटबल मैदानजस्तै एकदम चटक्क मिलेको बनाउने, बिहान–साँझ १४ वर्ष मुनिका बालबालिकाले फुुटबल खेल्न पाउनेगरी यो योजना बनाएको हो ।”

१४ वर्षमुनिका बालबालिकाले फुटबल खेल्न पाउनेछन्, घुमफिरका लागि पार्क तथा पहिले जस्तै सभा, सम्मेलन सञ्चालन हुनेगरी बहुआयामिक प्रयोजनकै लागि खुलामञ्च खुला हुनेछ । उहाँले भन्नुभयो, “पहिलाभन्दा धेरै व्यवस्थित बनाएर खुला हुन्छ । फरक यति हो पहिले सभा, सम्मेलनका लागि मात्र खुला हुन्थ्यो । अब पार्क जसरी बस्न नि पाइयो, प्लेग्राउण्ड, इभेन्ट क्षेत्रको रुपमा पनि हुन्छ । मल्टीप्रपोज एरिया भयो यो ।”

उहाँले खुलामञ्चको मञ्च नयाँ बनाउनेदेखि त्यस क्षेत्रमा एकचोटीमा ५० देखि ६० जनाले सेवा लिन मिल्नेगरी शौचालय निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुला नहुँदासम्म प्रतीक्षा चाहिँ गर्नुपर्‍यो । अलि व्यवस्थित नहुँदासम्म चैतसम्म कुर्नुहोला ।”

खुलामञ्च खुला हुने सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका सचिवालय सदस्यसमेत रहनुभएका पूर्वाधार सल्लाहकार सुनिल लम्सालसँग गोरखापत्र अनलाइनका लागि सपना थामीले गर्नुभएको संवाद:

भिडियो : केशब गुरुङ, दृश्य सम्पादन : मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।