• ७ मंसिर २०८१, शुक्रबार

‘प्रमुख दुई दल दृढतापूर्वक उभिँदा अन्यौलता हट्यो’

blog

शुक्रबार नेकपा (एमाले) मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलसहित पार्टीका नेताहरु ।

काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख दलहरु दृढतापूर्वक उभिएका कारण राजनीतिक अन्यौलताको अन्त्य भएको बताउनुभएको छ । 

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगामी मङ्सिर ७ गते काठमाडौंमा आयोजना गर्न गइरहेको जनजागरण सभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “मलाई लाग्दछ, अहिले दुईवटा कारणले गर्दा नेपालमा अस्थिरता सिर्जना गर्नेहरुको मनोबल घटेको छ । एउटा पक्ष के हो भन्दा सरकारमा रहेका राजनीतिक दलहरुले आफ्नो सामूहिक प्रतिबद्धता जनाउने काम गरे । त्यसलेगर्दा अस्थिरता सिर्जना गर्ने जुन प्रवृत्ति थियो, त्यसमा लगाम लागेको छ ।”

उहाँले प्रमुख दलहरुले राजनीतिक स्थायित्वको आधार खोज्ने भनेर सङकल्प गरेका कारण अन्यौलताको स्थिति एक हदसम्म अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख दलहरुले राजनीतिक स्थायित्वको आधार खोज्ने भनेर जसरी सङकल्प गरेका छन्, त्यसरी उनीहरु दृढतापूर्वक उभिएका कारणले एक प्रकारको अन्यौलताको अवस्था एक हदसम्म अन्त्य भएको छ ।”

महासचिव पोखरेलले अराजकता दुरुत्साहन गर्दै जनतालाई भविष्यप्रति आशावादी बनाउनु पनि प्रमुख दलहरुको कर्तव्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर, जनतालाई भविष्यप्रति आशावादी बनाउन जरुरी छ । अर्कोतर्फ हाम्रो समाजमा जुन प्रकारको अराजकता स्थिति देखा परेको छ, खासगरी आमसञ्चार माध्यमले पनि अनुभव गर्नुभएको पक्ष छ ।” 

उहाँले अराजकतावाद देश विकास, समृद्धि, जनताको सपना एवम् आकाङ्क्षाको समस्या रहेको कुरा जनतालाई बुझाउँदै परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्नुपर्ने विचार राख्नुभयो । 

एमालेले मङसिर ७ गते काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाको अगुवाइमा जनजागरण सभा आयोजना गर्दैछ । यस सन्दर्भमा महासचिव पोखरेलले भन्नुभयो, “उपत्याकामै आयोजना हुने कार्यक्रमबाट यो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्ट छन् भन्ने कुरा खडा गर्न खोजिएको छ । जनता प्रमुख दलबाटै विश्वास र अपेक्षा गर्दछन् । जनजागरण आयोजना गर्न खोजेका छौं, यसले त्यसको औचित्य पुष्टि गर्दछ भन्ने मलाई लाग्छ ।” 

जागरण सभा संयोजन समितिका संयोजक तथा बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले सभा मंङ्सिर ७ गते बिहान साढे ११ बजे भद्रकालीबाट सुरु हुने जानकारी दिनुभयो । उहाँले ट्राफिक सिस्टमलाई कुनै असर नपर्नेगरी भेला वीर अस्पताल, रत्नपार्क, भद्रकाली क्षेत्रमा आयोजना हुने बताउनुभयो । यसका लागि २३ वटै जनसङ्गठन, युवा, विद्यार्थीले तल्लो तहमा गएर समन्वय गर्ने उहाँको भनाइ छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राजनीतिक अस्थिरता र अराजकताविरुद्ध विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत बनाउन जनजागरण सभा आयोजना गरिन लागेको हो ।

जागरण सभालाई सुव्यवस्थित बनाउन एमालेले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल रहनुभएको छ ।

सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।