• २३ मंसिर २०८१, आइतबार

कीर्तिपुर उपनिर्वाचन : आत्मसमीक्षासहित जनताको घर जान प्रचण्डको निर्देशन

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरमा आयोजित उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

कीर्तिपुर, कात्तिक २८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमीक्षासहित जनताको घरमा जान पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कीर्तिपुरमा बुधबार आयोजित उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले विगतमा कतिपय त्रुटि आफूहरूबाट समेत भएको स्मरण गराउनुहुँदै ठुला सभा तथा समारोहभन्दा जनताको घरमा गएर उनीहरूको समस्या सुन्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “कीर्तिपुरमा एउटा कीर्तिमान कायम गर्नुपर्नेछ । विगतमा कतिपय त्रुटि र कमजोरी पनि गरेका छौँ  । ठुला सभा, समारोहभन्दा घर–घरमा, टोल–टोलमा जनतासँग भेटेर आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुहोला । त्यो अर्थपूर्ण रहन्छ । कीर्तिपुर नगरपालिकामा म विशेष निर्देशनसहित भन्न चाहन्छु, हामीले जनताको आवश्यकता र चाहना पुरा गर्न सकेनौँ । हामीलाई अवसर दिनुस् भनेर जनताको घरमा जानुस् ।”


उहाँले पछिल्लो समय माओवादी नेतृत्वको सरकारले सुशासनका लागि प्रयास गरिएको कुरा सबैलाई जानकारी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सुशासनको पक्षमा माओवादी केन्द्र नेतृत्व सरकारले प्रयास गरेको देशभरी बुझिएको छ । नयाँ सरकार किन बन्यो भन्ने पनि जनतालाई थाहा छ ।”

मङ्सिर १६ गते हुन गइरहेको स्थानीय उपनिर्वाचनमा कीर्तिपुरमा मात्रै नगरप्रमुख पदमा निर्वाचन हुन गइरहेको छ । यसका लागि माओवादी केन्द्रले नगरप्रमुखमा प्रा.डा. शिवशरण महर्जनको औपचारिक उम्मेदवारी आजै बिहान घोषणा गरेको हो । यसैगरी, कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष पदमा अष्टमान महर्जन र वडा नं. ४ को अध्यक्ष पदमा नारायण विष्टको उम्मेदवारी घोषणा भएको छ ।


को हुन् प्रा.डा.शिवशरण महर्जन 

कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले नगरपालिकाभित्र निःशुल्क फोहोरमैला उठाउने प्रतिबद्धता उम्मेदवारी घोषणाका क्रममा गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा करिब ३७ वर्ष प्राध्यापन गर्नुभएका महर्जन लामो समयदेखि सामाजिक तथा मानव अधिकारको क्षेत्रमा सक्रिय रहनुभएको छ ।

यसअघि उहाँ नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन (२०३७-३८) मा नगर कमिटीको सदस्यका रुपमा हुनुहुन्थ्यो । विश्वविद्यालयमा प्राध्यापन अघि महर्जन कीर्तिपुरका सामुदायिक विद्यालयहरू कीर्तिपुर मावि, मङ्गल मावि, जनसेवा माविमा अध्यापन क्षेत्रमा रहनुभएको थियो ।

महर्जनले भन्नुभयो, “मेयरको उम्मेदवारी किन ? भन्ने जिज्ञासा आउन सक्छ । विकास लथालिङ्ग, दूरदृष्टि नभएको अवस्थामा जनताहरू दुःख व्यक्त गरिरहेका छन् । प्रमुखमा जित हासिल भयो भने कीर्तिपुरलाई नयाँ रुपमा ल्याउने अठोट गरेको छु । भ्रष्टाचारमुक्त बनाउने प्रण गरेको छु ।”

उहाँले नगरपालिकाबाट प्राप्त हुने तलबभत्ता समेत सामाजिक क्षेत्रमा लगाउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यो दल, ऊ दलभन्दा पनि समग्र कीर्तिपुरको विकासका लागि के गर्नुपर्छ म गर्छु। फोहोरमैला निःशुल्क उठाउने, सडक सञ्जाल व्यवस्थित गर्ने, लथालिङ्ग खेलमैदान तुरुन्त व्यवस्थित गर्ने, त्रिविसँग पटक–पटक सम्बन्ध बिग्रने गरेको छ, यो सम्बन्ध राम्रो गरेर अघि बढ्छु ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।