• २५ मंसिर २०८१, मङ्गलबार

चलचित्रकर्मीबिच चलचित्रकै कटाक्ष

blog

काठमाडौँ, कात्तिक २५ गते । नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन । दसैँको छेकोमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ र दसैँमा प्रदर्शन भएका ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ व्यवसायिक रूपमा सफल भए । यी सफलताले राम्रो चलचित्र बनेमा रोनाधोना, कमेडी र एक्सन जुनसकै विधाको चलचित्रलाई पनि दर्शकले रुचाउँछन् भन्ने सिद्ध भएको छ । जुन तिहारमा प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि थप प्रमाणित गरेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ को सफलताले पनि कथा जस्तो भए पनि चलचित्रमा भावनात्मक छ, अझ त्यसमा रोनाधोना पर्याप्त छ भने त्यसले दर्शकको ‘सेन्टिमेन्ट’ लाई अवश्य तान्ने काम गर्छ भन्ने देखाएको छ ।

यसै लहरमा चलचित्रहरूले राम्रो व्यापार गरे पनि निर्माता निर्देशकले एकअर्काबिच कटाक्ष प्रहार गर्न अझै छाडेका छैनन् । सामाजिक सञ्जालमा आरोपप्रत्यारोप लगाउने काम भयङ्कर 

रूपमा चलिरहेको छ । दीपकराज गिरीले मङ्गलबार लेख्नुभएको थियो, “प्रायः हलले सो दिएन भनेर हामी उफ्रिन्छौँ तर हेरौँ त ‘नगण्य सोबाट सुरु भएको पूर्णबहादुरको सारङ्गीले आफूलाई कहाँ पु¥यायो ? योभन्दा पहिला १२ गाउँ त्यस्तै, समस्या कहाँ रहेछ त ?’ गिरीले बुधबार पुनः अर्को स्टाटसमा लेख्नुभयो, “यता पूर्णबहादुरको सारङ्गीले हलहरूमा आगो बालिरहेको छ । क्युएफएक्स हलमा रहेका ‘छक्का पञ्जा’ का सोहरू अझै पनि राताम्मे छन् । १२ गाउँको पनि त्यस्तै छ । एक्सन, कमेडी, सेन्टिमेन्टल सबै प्रकारका नेपाली फिल्म चल्नुले नेपाली सिनेमाको भविष्य राम्रो देखाउँछ ।”

कलाकार गिरीले लेख्नुभएको स्टाटसमा कटाक्ष गर्दै अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतले एउटा व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो । निर्माता बस्नेतले लेख्नुभएको छ, “कोही चलचित्रकर्मी, जो आजकाल हल पनि चलाउँछन्, मौका पाएर ठुलो गफ छाडिहालेछन्, नेपाली चलचित्रले राम्रो गर्दै गएपछि सो बढेको बढ्यै छ त भन्दै । हो हजुर हो । विदेशी चलचित्र राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट सो दिन्छ नि, त्यही दिमागले नेपाली चलचित्र पनि राम्रो हुन्छ, सुरुमै राम्रो सो दिनु पर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली चलचित्रले चाहिँ प्रमाणित गरिरहनुपर्ने हो ? निर्माताले सो थपिदिनु न भनेर गुहार्नुपर्ने नै हो ? विदेशी चलचित्रको सो घटाएर नेपाली चलचित्रलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली चलचित्रले दर्शक खोजेको हो, हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र सो थपिएको हो । विदेशी चलचित्र पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि सो घटाइएको हो । कम से कम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नुभयो, ठिक गर्नुभयो । चिनियो ।”

यसै गरी निर्माता अर्जुन कुमारले सामाजिक सञ्जालमार्फत ‘हल सञ्चालक साथीहरू, सानो संसारलाई एक/एक सो सबै हलले दिनु न । ‘सानो संसार’ लाई एक सो दिँदा तपाईंलाई घाटा हुँदैन, जुन समयमा भए नि हुन्छ’ भनेर आग्रह गनुभएको छ । यसले नेपाली चलचित्रका लागि हल सञ्चालक अझै पनि संवेदनशील नभएको भन्ने कुरा दर्साउँछ । 

गिरी र बस्नेतको यो सञ्जालको स्टाटसले यो दर्साउँछ कि यहाँ चलचित्र चले पनि एकअर्कालाई आरोप लगाउन कम हुँदैन । यति मात्र नभएर अहिले निर्माता निर्देशक ‘दसैँतिहार, छठ, विदेशी सिनेमा अब पर हट’ भन्न थालेका छन् । यसले चलचित्र निर्माता निर्देशकमा भएको दम्भ दर्साउँछ । अब कात्तिक ३० गते प्रदर्शनमा आउन लागेको चलचित्र ह्रस्व दीर्घ, केटी हराएको सूचनाले कस्तो व्यवसाय गर्छ त्यो अझ हेर्न बाँकी नै छ । यसपछि हामीले विदेशी चलचित्रलाई पर हट भन्न सक्छौँ कि ?