• ७ मंसिर २०८१, शुक्रबार

सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति

blog

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, कात्तिक १७ गते ।
सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ ।

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बरहथवाका डिएसपी गौतम थापाले राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको छ । शुक्रबार राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताउनुभयो । स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ ।

आगलागीका कारण खुल्न सकेको छैन । मुख्यबजारमा भएको आगलागी सबैको सहयोगमा नियन्त्रणमा लिन सफल भएकाले थप पसल तथा घरहरुमा क्षति हुन नपाएको स्थानीय वासिन्दाले बताएका छन् ।