• १९ असार २०८१, बुधबार

अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा र भूजेल विजयी

blog

नरेन्द्र ढकाल
गोरखा, जेठ २ गते ।
अजिरकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिनुभयो  ।

अध्यक्षमा निर्वाचित देवकोटाले तीन हजार ७८७ मत ल्याउनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोबिन्दबहादुर गुरुङको तीन हजार २८९ मत आएको छ । देवकोटाले ४९८ मतान्तरले गुरुङलाई पराजित गर्नुभएको हो । अध्यक्षमा पराजित नेकपा एमालेकी गीताकुमारी पोखरेलले ३५५ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा विजयी भुजेलको तीन हजार ५३२ मत आएको छ । उहाँकी निकटम प्रतिद्वन्दी कांग्रेसकी इन्द्र गुरुङले तीन हजार ३६१ मत ल्याउनु भएको छ । भुजेलले २७१ मतान्तरले गुरुङलाई पराजित गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो । उपाध्यक्षमा पराजित नेकपा एमालेका शेखरनाथ न्यौपानेको ५१३ मत आएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि प्रतिस्पर्धा गर्नु भएका गुरुङ र भुजेल नेपाली काँग्रेसका उम्मेद्वार फणिन्द्र धिताल र चन्द्रमायाँ गुरुङसँग पराजित हुनु भएको थियो । नेपाली काँग्रेसको राम्रो पकट मानिएका अजिरकोट गाउँपालिका यस पटक माओवादीले अध्यक्ष, उपाध्यक्ष सहित ३ वटा वडा समेत जितेको छ । ५ वटा वडा रहेको त्यहाँ दुई वटा वडामा मात्र नेपाली काँग्रेस बिजयी भएको छ ।

माओवादीले अहिले बारपाक सुलिकोट, धार्चे र गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा अग्रता बनाएको छ । नेपाली काँग्रेसले गोरखा नगरपालिका, सिरानचोक, भीमसेन थापा र  आरुघाट गाउँपालिकामा अग्रता कायम गरेको छ । नेकपा एमाले शहिद लखन गाउँपालिकामा अघि छ । यस अघिको निर्वाचनमा ९ वटा स्थानीय तह जितेको काँग्रेस अहिले पछाडी देखिएको छ । माओवादी केन्द्रले अग्रता लिएको छ भने काँग्रेसले पछ्याइरहेको छ । नेकपा एमाले पहिलो पटक खाता खोल्ने प्रयासमा जुटेको छ ।