• ९ वैशाख २०८३, बुधबार

नेतृत्व फेरेर मात्र पार्टी पुर्नगठन हुँदैन : एमाले नेता ज्ञवाली

blog

बोमलाल गिरी

नवलपुर, वैशाख ९ गते । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले अहिले नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नआएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल, नवलपुर शाखाले कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताउनु भएको हो । ‘‘चुनावमा पार्टी पराजय हुनुका धेरै कारण छन्, त्यसको हामी समीक्षा गरिरहेका छौं, समीक्षापछि को कति जिम्मेवार छ भनेर पहिचान गरेपछि पार्टी पार्टी पुर्नगठन हुन सक्छ, ’’ ज्ञवालीले भन्नुभयो ।

व्यक्तिलाई फेरेर मात्र पार्टी पुर्नगठन नहुने भन्दै उहाँले समीक्षापछि मात्र नेतृत्व परिवर्तन हुन सक्ने ज्ञवालीले बताउनुभयो । चुनावमा एमालेलाई पराजित गर्न आन्तरिक र बाह्यक कारण मुख्य रहेको उहाँले बताउनुभयो ।

‘‘केही बाह्य शक्तिहरुले भूमिका निर्वाह गरे, उनीहरुका गतिविधि र प्रयास मुख्य जिम्मेवार छन्,’’ ज्ञवालीले भन्नुभयो, ‘‘जनताको बीचमा जान नसक्नु, युवाहरुलाई विश्वास दिलाउन नसक्नु र जनताबाट टाढा हुँदा पार्टीसँग देखिएको ग्याप आन्त्रिक कारण रहेका छन् ।’’

अर्को प्रसंगमा नेता ज्ञवालीले तत्काल बाम एकता वा नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता सम्भव नरहेको बताउनुभयो । ‘‘तत्काल पार्टी एकता सम्भव छैन, एकताका बारेमा छलफल पनि भएको छैन,’’ ज्ञवालीले भन्नुभयो, ‘‘यदि कसैले त्यसरी हल्ला चलाएको छ भने त्यो सत्य होइन ।’’

अहिले पार्टी कमजोर अवस्थामा रहेकाले पहिले पार्टीलाई बलियो बनाएपछि मात्र पार्टी एकता वा वाम एकताका बारेमा छलफल गर्न सकिने उहाँले बताउनुभयो ।