सैलुन चलाउने भनेपछि हामी झट्ट सम्झन्छौँ भारत वा तराईबाट आएका ठाकुर । नेपालमा प्रायः कपाल काट्ने परम्परा धान्ने नै ठाकुर समुदायका व्यक्ति हुन् तर बेग्लै समुदायका ३८ वर्षीय सुलभ सिग्देलले अहिले सैलुन चलाएर आम्दानी मात्रै गरेका छैनन् यो पेशामा आकर्षित गरेर अन्य मानिसलाई कपाल काट्ने सिपसमेत सिकाएका छन् ।
भरतपुरका सुलभले भरतपुरमा पपुलर युनिसेक्स सैलुन चलाउन लागेको एक दशकभन्दा बढी समय भयो । २०७० साल साउनमा भरतपुरको चौबिसकोठीमा भित्तामा ऐना अड्याएर ग्राहक कुर्न सुरु गरेका सुलभ अहिले भरतपुरको नाम चलेका सैलुन सञ्चालक हुन् ।
“कपाल काट्ने भएर होला कतिले ठाकुर नै भन्छन् तर पनि म प्रतिवाद गर्दिनँ । मेरो पेसा ग्राहकले खोजे र रोजे जस्तै कपाल काट्ने हो । त्यसमा अहिले म दक्ष छु,” उनले भनेका छन् ।
सुलभको सैलुनमा महिला र पुरुष उत्तिकै आउँछन् । थ्रेडिङ गर्नेदेखि कपाल काट्ने युवक, युवती नै उनका ग्राहक छन् । कपालमा मेहदी लगाउनेदेखि स्टे«ट गर्न पनि त्यहाँ ग्राहक पुग्छन् ।
सुलभले आफ्नो सेवाका बारेमा यसरी बताए, “बाहिर कपाल काट्नु र मेरोमा कपाल काट्नुमा फरक छ । मेरोमा कपाल काट्न आएका ग्राहकले आवश्यकता अनुसार टाउको नुहाएर, सफा गरेर निस्कन्छन् ।”
भरतपुरका व्यवसायी यज्ञ सुवेदी सुलभका नियमित ग्राहक हुन् । व्यावसायिक केरा खेती गर्ने सुवेदी आफूले जहिले पनि त्यही सैलुनमा कपाल काट्ने जानकारी दिँदै भनेका छन्, “मेरो त स्पष्ट धारणा छ पैसा किन विदेशीलाई दिने स्वदेशमै रोजगारी गर्न चाहनेलाई पनि हामीले संरक्षण गर्नु प¥यो नि ।”
सुलभ कपाल काट्ने पेसामा यसै आएका हैनन् । उनलाई पनि कुनै बेला विदेश जाने भूत नचडेको होइन । वैदेशिक रोजगारीका लागि २०६२ सालमा कतार गएका सुलभ २०६४ मा स्वदेश फर्किएका थिए ।
उनी भन्छन्, “विदेश जाने मोह मलाई पनि नभएको हैन । सिङ्गापुरको सपना देखेर मैले नेपाल छाडेँ तर मलेसिया पु¥याइयो । त्यतै सात आठ महिना बरालिएपछि म नेपाल फर्किएँ । पछि कतार जाने प्रक्रिया सुरु गरेँ । त्यसको केही समयमा कतार पुगेर दुई वर्षसम्म काम गरेर फर्किएँ ।”
कतारमा धेरै हन्डर खाँदै मजदुरी गर्नुपर्दा आफ्नो मन चुँडिएर नेपाल नै फर्किएर केही काम गर्ने सोचाइले उनी स्वदेश फर्किएका थिए ।
सुलभले ती दिन सम्झँदै भने, “नेपाल त फर्कियो तर अब के गर्ने भन्ने चिन्ता थपियो । केही न केही नयाँ काम गरौँ भन्ने लागेर आयो । अनि कपाल काट्ने पेसा सिक्न लागेँ ।”
उनले पहिला छ महिनासम्म अरूकै सैलुनमा कपाल काट्न सिकेँ । त्यसपछि आफैँले सैलुन चलाउन थालेँ ।
चुनौती सकिएको थिएन । उनी भन्छन्, “चौबिसकोठीको चोकमा सैलुन त खोलेँ तर ग्राहक कहाँबाट आउनु । पहाडी मूलको देखेपछि कपाल काट्न सक्छ भनी विश्वास नै गर्दैनथे तर विस्तारै हामीसँग पनि कपाल काट्ने मानिस बढ्दै गए ।”
उनले सैलुन सुरु गरेको एक दशकमा पाँच हजारभन्दा बढीलाई त तालिम दिइसकेका थिए ।
तालिम लिनेमध्ये ७० जनाले निःशुल्क तालिम लिएका हुन् । तालिममा ४५ दिनको आधारभूत र छ महिनाको पूरा कोर्स राखिएको छ । आफ्नो सैलुनमा तालिम लिनेले नेपाल र विदेशमा काम गरिरहेका उनको भनाइ छ ।
उनी भन्छन्, “मेरै सैलुनमा सिकेका ३०/४० जनाले अहिले स्वदेशमै सैलुन चलाएका छन् तर तालिम लिएका अधिकांश विदेशमा रोजगारीमा छन् ।”
अस्टे«लिया, अमेरिका, क्यानडा, जापान तथा युरोपेली मुलुकमा समेत कपाल काट्न जाने व्यक्तिको माग बढिरहेको उनले जानकारी दिएका छन् ।
सैलुनमा कपाल काट्ने आधारभूत तालिम लिइरहेकी भरतपुरकी समीक्षा सापकोटा सिप सिकेर नेपालमै सैलुन खोल्ने विचारमा छिन् । उनी भन्छिन्, “मैले कपाल काट्न सिकेको स्वरोजगार बन्न हो । भरतपुर–१३ की गोमा विक पनि सिप सिकेर आफू दक्ष हुनु राम्रो हुने बताउँछिन् ।”
सैलुन सञ्चालन गरेर हुने आम्दानीका बारेमा सुलभ यसो भन्छन्, “आम्दानीको कुरा गर्दा यति बुझ्नुस् न नेपालमै बसेर परिवार पालेर कार चढ्न सक्ने भएको छु । पाँच छ जनालाई रोजगारी दिँदै मासिक एक लाख रुपियाँ घर भाडा तिरेर पनि आम्दानी हुने गरेको छ ।”
अहिले पनि चितवनमै यो पेसा गर्ने सुलभ जस्ता ४० जना पहाडी मूलका मानिस छन् । तीमध्ये कतिपयले कति उनकै सैलुनमा सिकेर यो पेसा अपनाएका हुन् । सुलभका अनुसार एक भारतीय हजामले कपाल काटेर मासिक ५०/६० हजार रुपियाँ भारत लाने गरेको छ ।
उनी जानकारी दिन्छन्, “एक अध्ययनले पनि चितवनमा एक हजार दुई सयभन्दा बढी भारतीय ठाकुरले कपाल काट्ने गरेको देखाएको छ । अब भन्नुस् एउटै हजामले करिब ५० हजार रुपियाँ कमायो भने पनि मासिक छ करोड रुपियाँ कपाल काटेर मात्रै यहाँको पैसा भारत पुग्छ ।”
नामसँगै दाम कमाएका सुलभ आफ्नो पेसाबाट सन्तुष्ट देखिन्छन् । उनी भन्छन्, “सिप ठूलो, सानो हुँदैन । अहिले रोजगारी पाइएन भनेर भौँतारिँदै विदेश जानुभन्दा सानातिना सिप सिकेर नेपालमै स्वरोजगार बन्न सकिन्छ ।”