• १५ कात्तिक २०८२, शनिबार

विदेशी कम्पनीलाई बन्दरगाह दिने योजनाविरुद्ध बङ्गलादेशमा डक कामदारको हडताल

blog

ढाका, कात्तिक १५ गते । बङ्गलादेशका डक कामदारले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोध स्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् । 

अन्तरिम सरकारले बन्दरगाह सञ्चालनको इजाजतपत्र विदेशी कम्पनीलाई भाडामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि श्रमिक सडकमा उत्रिएका हुन् । अक्टोबरमा थोरै सङ्ख्याबाट सुरु भएको वाकआउट अहिले करिब २०० जना डक कामदारमा विस्तार भइसकेको छ । 

यो बन्दरगाह बङ्गलादेशको मुख्य व्यापारिक प्रवेशद्वार र विश्वव्यापी गार्मेन्ट आपूर्ति शृङ्खलाको अत्यन्त महत्वपूर्ण केन्द्र हो । चट्टोग्राम पोर्ट अथोरिटीका अध्यक्ष एस.एम. मोनिरुज्जमानका अनुसार विदेशी विशेषज्ञ अपरेटरले लगानी बढाउने र बन्दरगाह सञ्चालनको दक्षता सुधार गर्नेछन् । विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेश आफ्नो अधिकांश आयात-निर्यातका लागि यही बन्दरगाहमा निर्भर छ । 

यसलाई पहिले ‘चटगाँव’ नामले चिनिन्थ्यो र यो रणनीतिक रूपमा बङ्गालको खाडीको किनारमा अवस्थित छ । संयुक्त अरब इमिरेट्स (युएइ) आधारित ‘डिपी वर्ल्ड’ कम्पनीले बन्दरगाहको नयाँ मुरिङ कन्टेनर टर्मिनल सञ्चालन गर्न चासो देखाएको छ भने डेनिस शिपिङ कम्पनी ‘ए.पी.मोलर-मार्सक’ ले सहर बाहिर रहेको लाल्डिया कन्टेनर टर्मिनलमा रुचि जनाएको बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले जनाएको छ ।

जहाजरानी मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद युसुफका अनुसार अन्तरिम प्रशासनसँग डिसेम्बरसम्ममा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । गत वर्ष अगस्ट २०२४ मा व्यापक जनआन्दोलनपछि शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम प्रशासन आगामी फेब्रुअरीमा हुने निर्वाचनपछि प्रतिस्थापित हुनेछ । रासस/एएफपी