सिराज खान
नेपालगन्ज, कात्तिक १५ गते । बाँकेको कोहलपुर नगरपालिका –२ बिकासनगरस्थित जनएकता सामूदायिक वनमा बाघले आक्रमण गरेर मृत्यु भएको भनिएका स्थानीय मोहन थारुको मृत्यु रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।
जनएकता सामुदायिक वनमा शुक्रबार साँझ घाँस काट्न गएको बेला बाघले आक्रमण गरेपछि भाग्नेक्रममा मोहन थारुको मृत्यु भएको बताइएको थियो । अन्य दुई जना बेपत्ता भएको जानकारी आए पनि मृतकको शव हेर्दा घटना रहस्यमय देखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
थारुका परिवारले उहाँको हत्या भएको भन्दै प्रहरीमा शनिवार जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको जनाउँदै घट्नाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपाले बताउनुभयो ।
उहाँले थारुसँगै वनमा गएका दुई जना शुक्रबार राति बेपत्ता भएको भनिए पनि शनिवार विहान सम्पर्कमा आएको जनाउँदै उनीहरुसँग पनि सोधपुछ गरिरहेको बताउनुभयो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा थारुलाई बाघले लखेटेको, कोतरेको र टोकेको जस्ता कुनै सङ्केत नदेखिएको प्रहरीले जनाएको छ ।
घटनास्थल र त्यसको केही मिटर वरपरको स्थानमा समेत बाघको पाइलाको कुनै सङ्केत नदेखिएको पनि प्रहरी नायब उपरीक्षक डमरपालले बताउनुभयो । मृतक थारुसँगै गएकाहरुले थारुलाई बाघले लखेटेको र आफूहरु पनि भागेको तथा पछि आफूहरु ज्यान जोगाएर घर फर्किएको बयान दिएका छन् ।
वनमा घाँस काट्न गएकामाथि बाघले आक्रमण गरेको खबर फैलिएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले घटनास्थलमा पुगेर बेपत्ता भनिएकाहरुको खोज गरेको थियो । मृतक थारुको पोष्टमार्टमपछि मात्र मृत्युको वास्तविक जानकारी पत्ता लाग्ने प्रहरीले जनाएको छ ।