• १२ कात्तिक २०८१, सोमबार

गरुडनारायणको मूर्ति प्रहरी कार्यालयबाटै गायब

blog

काठमाडौँ, कात्तिक १२ गते । बौद्धको चाँदनी चोक,  ढुङ्गेधारामा करिब नौ वर्ष अघि भेटिएको गरुडनारायणको मूर्ति प्रहरी कार्यालयबाटै हराएको स्थानीयको गुनासो छ । स्थानीयले सो मूर्ति फेला पारेर संरक्षणका लागि प्रहरी कार्यालयलाई जिम्मा लगाएको बताएका छन् । 

स्थानीय श्यामबहादुर कुँवरले बाटोमा हिँड्दै गरेको अवस्थामा सो मूर्ति फेला पार्नुभएको थियो । उहाँका अनुसार फेला पारिएको सो मूर्तिको सुरक्षा र संरक्षणका लागि नजिकको प्रहरी कार्यालयलाई जिम्मा लगाइएको थियो । 

यसरी फेला पर्‍यो मूर्ति 

“सरस्वती नगर चोकबाट माथितिर लाग्दै थिएँ । पयुँको बोटमुनि एउटा हात देखेँ । त्यो जग्गामा प्लटिङको काम भइरहेको थियो, मैले ढोकातिर कतै सजाउने मूर्ति होला भन्ठानेँ ” कुँवरले भन्नुभयो । 

कोठामा पुगेको केही समयपछि उहाँलाई फेरि त्यही ठाउँमा जाऊँ–जाऊँ लाग्यो र त्यो हात मात्र देखिएको मूर्ति के रहेछ भनेर जान्न मन लाग्यो, कुँवरले भन्नुभयो । उहाँले भन्नुभयो, “मलाई किन हो, त्यो मूर्तिको झ–झल्को आइ नै रह्यो । त्यसैले म त्यही ठाउँमा  फेरि गएँ । प्लटिङ भइरहेको थियो, गारो लगाउने एक जना मान्छे पनि थिए । मैले उसलाई पनि बोलाएँ तर उनी आएनन् । सिन्काले खोतली–खोतली हेर्दा त सिमेन्टीको मूर्ति भन्ठानेको होइन रहेछ ! मूर्ति एक हात जति अग्लो थियो । मैले बोकेर कोठामा ल्याएँ । झन्डै ५० किलो जति गह्रुङ्गो थियो ।”

त्यस बेलाका एक प्रत्यक्षदर्शी ईश्वरी तिमल्सिना बस्नेत भन्नुहुन्छ, “नमस्कार गरेर घुँडा टेकेर बसेको, पखेटा फिँजाएको त्यो मूर्ति प्रत्यक्ष बोल्लाजस्तो देखिन्थ्यो । शिरमा पाँच वटा नागको मुकुट लगाइएको थियो । कपाल कर्ली लामो कम्मरसम्म मुन्द्र–मुन्द्र परेको, पाखुरा, घाँटी, शिरमा नागकै गहना थियो । आँखा, नाक, मुख अहिल्यै बोल्छन् जस्तो लाग्थ्यो ।”

मूर्ति भेटाएकै साँझ पुलिसलाई बुझाइयो 

कुँवरका अनुसार आफू बसेको कोठा छेउसम्म मूर्ति ल्याउन्जेल यो हल्ला वरपर महाँकाल चोकसम्म भइसकेको थियो । तत्पश्चात् त्यही राति प्रहरी उहाँको कोठामा आइपुग्यो र उहाँले त्यो मूर्ति बौद्ध प्रहरीलाई बुझाउनुभयो ।

उहाँले भन्नुभयो, “यो मूर्ति लिएर पुलिसचौकी हिँड्नुस् भन्नुभयो । चुच्चेपाटी पानीट्याङ्की प्रहरी बिटमा बुझाएको थिएँ । पत्रकार बोलाएर, मेरो फोटो मूर्तिसँगै खिचेको थियो । मैले मूर्ति बुझाएको हो । हस्ताक्षर पनि गरेर बुझाएको हो ।” उहाँका अनुसार त्यो समय प्रहरी सिभिलको कपडामा आएका थिए ।”  २०७२ भदौ अन्तिमतिर सो मूर्ति प्रहरीलाई बुझाइएको स्थानीयको भनाइ छ । 

गठन भयो संरक्षण समिति

पछिल्लो समय कुनै पनि खबर नपाएपछि सो मूर्ति खोज गर्ने उद्देश्यले श्रवण बस्नेतको अध्यक्षतामा २०७३ सालमा चाँदनीचोक ढुङ्गेधारा संरक्षण समिति गठन भयो । अध्यक्ष बस्नेतका अनुसार समितिद्वारा पुरातत्त्व विभाग र बौद्ध प्रहरीमा खोजतलासका लागि निवेदन दर्ता गराइएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ६ को कार्यालयमा निवेदन पेस भए पनि दर्ता हुन नसकेको उहाँको भनाइ छ ।

बस्नेतले भन्नुभयो, “संस्कृति, सभ्यता, सम्पदा र सभ्यतासँग सम्बन्धित प्राचीन एवम् अलौकिक मूर्ति हुन सक्ने भएकोले संरक्षण गर्नुपर्छ भनेर हामीले समिति गठन गर्‍यौँ । पुरातत्त्व विभाग, बौद्ध प्रहरीमा निवेदन बुझाइसकेका छौँ । वडा कार्यालय लगायत सबैलाई जानकारी छ ।”

उहाँका अनुसार अचेल उक्त मूर्ति कहाँ छ भन्ने जानकारी कहीँबाट प्राप्त हुन सकेको छैन । उहाँले भन्नुभयो, “प्रहरीमा जाँदा मुचुल्का छैन भन्छ । कतै रेकर्ड रहेछ भने मात्र पनि चित्त बुझ्छ नि ! पहिला प्राचीनजस्तो लगेर लिएको र अहिले होइन रहेछ भने पनि प्रस्ट गर्नुपर्छ ।”

यस सम्बन्धमा बौद्ध प्रहरीले झन्डै नौ वर्ष अगाडिको घटना भएको भन्दै ठोस जवाफ दिन सकेन । प्रहरी कार्यालयका एक अधिकारीले नाम नभन्ने सर्तमा भन्नुभयो,  “हामीले त्यस्तो मूर्ति खास पुरातत्त्वलाई बुझाउने गरेको हो । अब त्यो के छ भन्ने विषयमा बुझ्नपर्छ । हामी कार्यालय जिम्मेवारीमा नभएका बेलाको विषय रहेछ, हामी पनि यसको खोजबिन गर्छौँ ।” 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।