• १० कात्तिक २०८१, शनिबार

घरज्वाइँको पीडा ‘ज्वाइँ साब’

blog

काठमाडौँ, कात्तिक ८ गते । दीपकराज गिरीको चलचित्र ‘छ एकान छ’ का नायकमध्ये एक भएर अभिनय गर्नुभएका जितु नेपाल चलचित्र ‘ह्यारी कि प्यारी’ मा नायककै रूपमा देखिनुभएको थियो । ‘ह्यारी कि प्यारी’ ले खासै राम्रो व्यापार गर्न नसके पनि कलाकार नेपालको चर्चाचाहिँ ह्वात्तै बढेको थियो । हास्यकलाकार मुन्द्रेको नामबाट चर्चा कमाएका नेपाल अभिनीत चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । हामीले विवाह गर्दा बेहुलीलाई घरमा भित्र्याउने चलन छ । चलचित्रमा बेहुलालाई बेहुलीको घरमा भित्र्याइएको छ । केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्रिँदा या घरज्वाइँ बस्दा के कस्ता परिस्थितिको सामना गर्नु पर्छ भन्ने कथा ‘ज्वाइँ साब’ ले देखाउँछ । 

गोवर्धन (जितु नेपाल) बुवा (प्रकाश घिमिरे) सँग साधारण जीवन बिताइरहेका हुन्छन् तर अचानक उनका बुवा आफ्नै विवाहका निम्ति छोरालाई निम्ता बाँड्न पठाउँदा उनी अचम्मित हुन्छन् । उनका बुवाले तीन छोराछोरी भएकी महिलालाई घरमा भित्राएपछि गोवर्धनको बाबुसँग मनमुटाव सुरु हुन्छ । गोवर्धन आफ्ना साथी भक्ते (बुद्धि तामाङ) र धने (हिमेश पन्त) सँग गफिँदै गर्दा अचानक रेडियोमा घरज्वाइँको विज्ञापन सुनेर तिनै जना भीमफेदी पुग्छन् । भीमफेदीमा भीमसेनदास (रमेश बुढाथोकी) को छोरी लक्ष्मी (नीति शाह) को विवाहका लागि ३५ जना युवकको घर ज्वाइँका लागि प्रतिस्पर्धा गराइन्छ । अन्त्यमा गोवर्धनको पोल्टामा लक्ष्मी पर्छिन् र दुवैको विवाह हुन्छ । चलचित्रको कथा यसपछि सुरु हुन्छ । कसरी गोवर्धन ज्वाइँ साबको जीवन निर्वाह गर्न बाध्य हुन्छन् । लक्ष्मीले किन सहजै परिवारको कुरा मानेर विवाह गर्छिन् । यिनै प्रश्नमा रुमलिएको छ ‘ज्वाइँ साब’ । चलचित्रको कथा दुई पाटोमा बाँडिएको हुनाले दर्शकलाई चलचित्रले केही अलमल पार्न सक्छ । परिवारका सदस्यले आफूलाई मन लागेको गरिदिँदा त्यसपछि आउने समस्या र आफ्ना साथीभाइको लहलहैमा लागेर जीवन कसरी बर्बाद हुन्छ ? यिनै विषयलाई चलचित्रमा पेचिलो ढङ्गमा देखाउन खोजिएको छ । चलचित्र पूर्णतया हास्य मात्र नभएर भावुकताले पनि भरिएको छ । 

चलचित्रको मुख्य कमजोरी कलाकारको अभिनय शैली नै हो । गोवर्धन पण्डितको भूमिकामा देखिएका जितु नेपालको पात्रमा बसेर जोसुकै दर्शकले चलचित्रभित्र आफूलाई पाउन सक्छ । जितुको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । उनलाई ज्वाइँ साबको भूमिका सुहाएको छ । नायिका नीति शाहको अभिनय मध्यम छ । उनले आफ्नो अभिनयलाई सशक्त देखाउन त खोजेकी छिन् तर अभिनय क्षमताले उनी धेरै ठाउँमा चुकेकी छिन् । बुद्धि तामाङ र हिमेश पन्तको भूमिका खासै निखारिएको छैन । उही पुरानै शैलीको अभिनय त्यसमा पनि खासै हास्य रस पाइँदैन । प्रहरी निरीक्षकको भूमिकामा देखिएका सन्दीप क्षेत्रीको जबरजस्ती हँसाउने शैलीले दर्शकलाई वाक्क दिक्क बनाउँछ । कलाकार रमेश बुढाथोकीको अभिनय औसत छ । चलचित्रको ‘कसम बत्तीको’ बोलको गीतले चलचित्रको ‘हाइट’ केही मात्रामा भए पनि माथि उठाउने काम गरेको छ । उक्त गीतमा जितु र नीतिको नृत्यलाई धेरै रुचाइएको पनि छ ।