• ७ मंसिर २०८१, शुक्रबार

हाँसोभित्र भ्रष्टाचारको उछितो

blog

काठमाडौँ, कात्तिक ५ गते । शृङ्खलाबद्ध रूपमा दर्शकबिच ल्याइएको ‘छक्कापञ्जा’ का कथामा समेत शृङ्खला पाइएको छ । छक्कापञ्जा–५ मा खास गरी नेपाली राजनीति र राज्य प्रशासनभित्र मौलाएको भ्रष्टाचारले युवा पलायन बढेको विषयलाई रोमाञ्चक तरिकाले पस्किएको छ । छक्कापञ्जाले सुरुमा वैदेशिक रोजगारीको कथालाई मुख्य विषय बनाएको थियो । छक्कापञ्जा–२ ले विदेश जान पिआरका लागि जबरजस्ती विवाह गर्ने कथालाई पस्केको थियो । छक्कापञ्जा–३ ले स्कुलमा हुने राजनीति र त्यसले समाजमा छाडेका केही प्रभाव कोट्याउने प्रयास गरेको थियो । छक्कापञ्जा–४ ले बुहारीका रूपमा दीपाश्रीले राजनीतिमा प्रवेश गरेको कथा समेटेको थियो । तथापि छक्कापञ्जा–५ ले नेपाली समाजको डरलाग्दो समस्याका रूपमा रहेको युवा पलायनलाई पस्कने जमर्को गरेको छ । 

चलचित्रले श्री ५ पृथ्वीनारायण शाहप्रति दर्साइएको भक्तिभाव, देशभक्ति र कर्मठ कर्मचारी कसरी कर्मचारीतन्त्रको चक्करमा फस्छ भन्ने देखाउने प्रयास गरिएको छ । समाजमा देखिने भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र राम्रो काम गर्छु भन्दाभन्दै पनि काम गर्न खोज्दा आउने अनेक बाधा अड्चनलाई चलचित्रमा पेचिलो ढङ्गमा प्रस्तुत गरिएको छ । 

इमानदार सरकारी अधिकृत पृथ्वीविक्रम (दीपकराज गिरी) नगरपालिकाका अधिकृत हुन् । पृथ्वीका बुवा (प्रकाश घिमिरे) आफ्नो परिवार पृथ्वीनारायण शाहको देशभक्तिको प्रशंसक र अनुसरणकर्ता हुन् । पृथ्वीनारायण शाहको उपदेशको अनुसरण गरी छोरालाई त्यसै अनुरूप इमानदार बन्न सानैदेखि पृथ्वीलाई प्रोत्साहित गर्छन् । बुवाको प्रेरणामा हिँडेका पृथ्वी घुस लिन र दिन दुवैबाट टाढा हुन्छन् तर कर्मचारीतन्त्रको अगाडि पृथ्वीको के लाग्छ ? घुस नखाएकै कारण उनको इमानदारिताको पुरस्कार उनलाई हरेक नगरपालिकामा पटक पटक सरुवाको कागज थमाएर दिइन्छ । यति हुँदा पनि उनी डगमगाउँदैनन् । उनी आफूमाथि आइपर्ने विभिन्न चुनौतीलाई सामना गर्न सदैव तयार रहन्छन् । पृथ्वीको विवाह नेताकी छोरी रश्मि (वर्षा शिवाकोटी) सँग हुन्छ । जसले उनलाई थप जटिलतामा पार्छ । रश्मि विदेश जान चाहन्छिन् तर पृथ्वी देशमै केही गर्नु पर्छ भन्ने मनसायमा हुन्छन् । यही कुरा दुवैबिच कस्ता प्रकारका द्वन्द्व निम्तिन्छ भन्ने कुरा पनि चलचित्रभित्र पस्कन खोजिएको छ । चलचित्रको मुख्य कथा पृथ्वीले गरेको सङ्घर्ष र घुस नखान खोज्दा उनीमाथि आएका विभिन्न बाधा अडचन वरिपरि घुमेको छ ।

पृथ्वीको भूमिकामा दीपकराज गिरी पर्फेक्ट देखिएका छन् । संवाददेखि लिएर नृत्य, एक्सन सबै कुरामा उनी जमेका छन् । रश्मिको भूमिकामा वर्षा शिवाकोटी मध्यम देखिएकी छिन् । नायकको चरित्र चलचित्रमा बढी हाबी देखिएकाले नायिका केही ओझेलमा परेकी हुन् कि ? केदार घिमिरे (माग्ने बुढा) को भूमिकाको जति तारिफ गरे पनि कम हुन्छ । चलचित्र उनको हास्यरसले जमेको छ । उनले बोल्ने संवाद र अभिनयको हाउभाउ एकदमै प्रभावशाली छ । रमेश बुढाथोकीको ‘ट्याक ट्याक ढ्याक’ को थेगोलाई दर्शकले अवश्य रुचाउने छन् । नायिकाको बुवाको भूमिकामा देखिएका रामचन्द्र पौडेलको अभिनयमा कुनै नयाँपन छैन । उही पुरानै ढर्राको अभिनयमा उनी प्रस्तुत भएका छन् । यस पटक चलचित्र पुराना कलाकार खासै दोहोरिएका छैनन । दमन रूपाखेती, लोकेन्द्र लेखक, नरेन्द्र थापालगायत कलाकारको छोटो अभिनय चलचित्रमा देख्न सकिन्छ ।  निर्देशक दीपाश्री निरौलाले छक्कापञ्जाका अघिल्ला शृङ्खलामा भन्दा यसमा बढी मेहनत गरेको देखिन्छ । निर्देशक निरौलाले समाजमा देखिने गम्भीर सामाजिक मुद्दालाई उठाउने सक्दो प्रयास गरेकी छिन् । निर्देशकको एउटै कमजोरी भनेको पृथ्वीनारायण शाहको बलमा देशभक्ति कुरा देखाउन खोज्नु हो, जुन चलचित्रको सबैभन्दा कमजोर पक्ष देखिन्छ । 

चलचित्र राम्रो पक्ष भनेको यसको सङ्गीत पनि हो । चलचित्रमा दुईदेखि तीन वटा गीत छन्, जसले दर्शकलाई हलमा नै उफ्रने बनाउन सक्छ । साथै प्रदर्शनअगावै चर्चामा आएको ‘ब्रेक अप गीत’ मा जति हावाहुन्डरी चलाएर गीतलाई तल पार्न खोजिएको छ । त्यसको केही औचित्य देखिँदैन । किनकि एक त गीत अन्त्यमा देखाइएको छ, जुन दर्शक हलबाट मनोरञ्जनात्मक भएर निस्किऊन् भनेर राखिएको हो । यही गीतमा अहिले टिकटक बनाउने जमात दिनप्रतिदिन बढ्दै गएको छ । यसले पनि ‘ब्रेक अप गीत’ गीत चलेको छ भन्ने पुष्टि गर्छ ।