अन्ततः नेपाली जनताले लोकतान्त्रिक संविधानअन्तर्गतको स्थानीय तहको दोस्रो निर्वाचनमा निकै उत्साह एवं शान्तिपूर्ण तवरले सहभागिता जनाएर निर्वाचनलाई सफल बनाएका छन् । लोकतान्त्रिक प्रणालीप्रति हरेक नेपालीको आस्था यसले प्रमाणित गरिदिएको छ । तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण रह्यो । निर्वाचनका सन्दर्भमा कतिपय सामान्य द्वन्द्व रहे पनि यसै विषयलाई लिएर कुनै उल्लेख्य घटना हुन पाएन । शान्तिसुरक्षाको व्यवस्थापन प्रभावकारी नै देखियो । स्थानीय निर्वाचनप्रति व्यापक जनसहभागिता देखियो । देश–विदेशबाट आफ्नो सरकार आफैँ छान्न मतदाता गाउँगाउँ पुगे । विगतको भन्दा स्थानीय निर्वाचनमा व्यापक उत्साह देखिनु यो निर्वाचनको मूलभूत विशेषता रहेको पाइएको छ ।
स्थानीय निर्वाचन लोकतन्त्र संस्थागत गर्ने पहिलो आधार हो । लोकतान्त्रिक अभ्यासलाई घरघरसम्म पु-याउने माध्यमसमेत हो । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा छिटपुट घटना तथा ठाउँबाहेक मुलुकभरका सबै ७५३ स्थानीय तहमा मतदान भयो । कारणबस स्थगित भएको स्थानमा समेत केही दिनभित्रै निर्वाचन हुनेछ । आम मतदाताको सक्रिय सहभागिताले मुलुकमा लोकतान्त्रिक प्रणालीकोे आधार थप सुदृढ हुँदै गएको सन्देश प्रवाहित भएको छ ।
यो निर्वाचनलाई आम नेपाली जनताको लोकतान्त्रिक प्रणालीप्रति दृढ प्रतिबद्धताका रूपमा पनि लिन सकिन्छ । सहज रूपमा यो निर्वाचन सम्पन्न भएसँगै लोकतन्त्रमा विश्वास गर्ने सबैले गौरवानूभूति गर्न सक्ने अवस्था सिर्जना भएको छ । मुलुकभर दसौँ हजार मतदान केन्द्र रहेकामा प्राकृतिक, प्राविधिक वा मानवीय कारणले ७७ मतदान केन्द्रमा मात्र पुनः निर्वाचन कार्यक्रम रहनु सन्तोषजनक विषय हो ।
स्थानीय निर्वाचन निर्वाध रूपमा सम्पन्न हुनु आम नेपालीका लागि गौरवको विषय हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुक्रबारको निर्वाचनमा आम जनताको उत्साहपूर्ण एवं सक्रिय सहभागिताका लागि आभार व्यक्त गर्नुभएको छ । उहाँले प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत गर्न सार्वभौम नेपाली नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिकको विश्वासलाई थप प्रमाणित गरेको भनाइबाट समेत मुलुकका लागि यो निर्वाचनको महत्ता स्पष्ट हुन्छ ।
निर्वाचन आयोगको प्रारम्भिक आँकडाअनुसार मुलुकभर ६४ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको पाइएको छ । अपेक्षाकृत रूपमा यो आँकडा अलिकति कम भए पनि झन्डै दुईतिहाइ मतदाता आफ्नो संवैधानिक अधिकारको उपयोग गर्न सक्षम हुनु खुसीको विषय मान्नुपर्छ । यसमा कतिपय मतदाता रोजगारी विशेषले थातथलोभन्दा बाहिर र विदेश रहेको कुरासमेत बिर्सनु हुन्न । आयोगले सार्वजनिक गरेको भनाइझैँ राजनीतिक दल तथा सुरक्षा निकायको थप प्रभाविकारी भूमिका अपेक्षित थियो ।
आगामी निर्वाचनको मतदानमा थप सहभागिताका लागि विचार पु-याउनुपर्ने पक्ष भने रह्यो । थप मतदाताको सहभागिताका लागि कुनै एक पक्षको प्रयास मात्र पर्याप्त हुँदैन । सरकार, आयोग, राजनीतिक दल तथा आम मतदाताले यस पटक देखिएका कमीकमजोरीलाई सुधार गरेर भविष्यका निर्वाचनमा मतदाताको थप सक्रिय सहभागिताको वातावरण निर्माणतर्फ प्रयत्नशील हुनु वाञ्छनीय देखिन्छ । राजधानी काठमाडौंँजस्तो हरेक दृष्टिकोणले सुगम स्थलमा ५२ प्रतिशत मात्र मतदान हुनुका कारण खोज्ने तर्फ निर्वाचनसम्बद्ध सबै पक्ष लाग्नुपर्ने देखिन्छ ।
अब केही दिनभित्रै देशभरका सबै स्थानीय तहका परिणाम सार्वजनिक हुँदै जानेछन् । आउने पाँच वर्षका लागि स्थानीय तहको सुशासन, विकास, निर्माणलगायत विविध विषयको जिम्मा जनमतले पत्याएका व्यक्तिलाई सुम्पिँदै छ । विगत पाँच वर्षका अवधिमा स्थानीय तहको विकासका लागि जेजति प्रयास भए वा हुन सकेनन्, त्यसलाई शिक्षाका रूपमा ग्रहण गर्नुपर्छ ।
निर्वाचित जनप्रतिनिधिले आउँदो पाँच वर्षका लागि आफ्नो गाउँठाउँको विकासका लागि प्रतिबद्ध रहने प्रण गर्नुपर्छ । स्थानीय तहको विकास नै समग्रमा मुलुकको विकासको आधार हो । भनिन्छ, एउटा मुलुकको विकास हेर्न गाउँतिर जानुपर्छ । यसैबाट मुलुकको वास्तविक विकासको अनुभूत गर्न सकिन्छ । यसै वर्ष सङ्घ तथा प्रदेशका लागि पनि निर्वाचन हुँदै छ । यस अर्थमा अहिलेको यो स्थानीय निर्वाचन त्यसका लागि महत्वपूर्ण आधार बन्नेछ । यस निर्वाचनका कमीकमजोरीलाई अबको निर्वाचनमा सुधार गर्ने अवसर पनि सबैलाई प्राप्त हुँदै छ । आशा गरौंँ, सबै पक्षले यसको सदुपयोग अवश्य नै गर्नेछन् ।