विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर ६ गते । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरोकुमारी साह, राजविराज नगरपालिका १६ बोरियाका १७ वर्षीय दिनेश ठाकुर, १४ वर्षीय छोटु भन्ने रवीन्द्र ठाकुर र २५ वर्षीय सन्तोष राउतलाई पक्राउ गरेको हो ।
बुधबार सरोकुमारी साहले मोबाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उहाँको घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइ त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएकोमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानको क्रममा आरोपी कुमारी साहसहित थप तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
मृतक यादव र साहसहित पक्राउ परेका चारैजना हाल राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया लवटोलीमा बस्दै आउनुभएको थियो ।