• ६ मंसिर २०८२, शनिबार

मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, महिला पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर ६ गते ।
सप्तरीमा मोबाइल चोरीको आरोपमा महिलाले गरेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटपिटबाट मृत्यु भएको हो ।

विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरो कुमारी साहले बुधबार मोवाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उहाँको घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याई त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएकोमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

मृतक यादव र साह हाल राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया लवटोलीमा बस्दै आउनुभएको थियो ।

यादवको मृत्युपछि कुटपिट गर्ने सरो कुमारी साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक पुरीले बताउनुभयो ।