• ४ मंसिर २०८२, बिहिबार

एनपिएल नेपाली गौरव

blog

  • साँच्चै एनपिएलले राष्ट्रिय महोत्सवको वातावरण सिर्जना गरेको छ । क्रिकेटप्रेमीका लागि नयाँ चाड थपिए जस्तै भएको छ । 
  • पहिलो संस्करण अध्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष दोस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती थियो ।
  • विगतमा एनपिएलको एक अर्बभन्दा बढीको कारोबार भएको थियो । क्यानले दोस्रो संस्करणको एनपिएलमा ४० करोड रुपियाँभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरेको छ ।


नेपाली क्रिकेटप्रेमी अहिले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को महामहोत्सवमा झुमेका छन् । खेतभरि झुलेको धान उठाउने यो मङ्सिर महिना क्रिकेटप्रेमीका निम्ति एनपिएलकै आकर्षणले मुग्ध बनाउँदै छ । मङ्सिरको पहिलो दिनबाटै सुरु भएको यो लहरले महिनाभर आनन्द दिने छ । साँच्चै एनपिएलले राष्ट्रिय महोत्सवको वातावरण सिर्जना गरेको छ । क्रिकेटप्रेमीका लागि नयाँ चाड थपिए जस्तै भएको छ । नेपाल मात्र होइन, क्रिकेट खेल्ने अन्य देशमा पनि एनपिएलबारे उत्तिकै चासो र चर्चा छ । विदेशमा रहने नेपालीका निम्ति पनि एनपिएल उस्तै आकर्षण हुँदै छ । बिहानीले दिन देखाउँछ भने जस्तै एनपिएलको सुरुवातमा देखिएको आकर्षणले दोस्रो संस्करण पहिलो संस्करणभन्दा भव्य हुने पक्का छ । पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो एनपिएल । हुन त विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यताप्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् । यीबाहेक अन्य देशमा पनि फ्रेन्चाई लिग खेलिन्छ । यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशको हुन सकेको छैन । क्रिकेटमा उदाउँदै गरेको नेपालले आयोजना गरेको फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग अर्थात् एनपिएललाई भने पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको सुखद संयोगले उत्साह थपेको छ ।

पहिलो संस्करण अध्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष दोस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती थियो । क्यानले यसमा राम्रो गृहकार्य पनि गरेको देखिन्छ । यसको बलियो उदाहरण अहिले कृत्रिम प्रकाशमुनि व्यवस्थित सिट योजनाका साथ स्तरीय अन्तर्राष्ट्रिय रङ्गशालामा एनपिएल भइरहनु नै हो । नेपालमा पहिलो पटक फल्ड लाइट्समा क्रिकेट भएको हो । यसै गरी विगतमा दर्शक अव्यवस्थित रूपमा जमिनै बसेर धुलो सहेर हेर्थे । पहिलो संस्करणको सफलतासँगै क्रिकेटको सर्वोच्च संस्था क्यान मात्र होइन सरकारले नै क्रिकेटलाई प्राथमिकता राखेको थियो । सरकारकै सहयोगले अहिले पहिलो चरणको पुनर्निर्माण सम्पन्न हुँदा नै करिब १० हजार दर्शक क्षमताको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हामीसँग छ । त्रिवि रङ्गशाला अझ स्तरोन्नति हुन बाँकी नै छ । करिब एक महिनाअघि सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको छ । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ । विश्वमा खेलकुद राम्रो उद्योगको अर्थतन्त्रलाई योगदान दिइरहेको छ । विश्व अर्थतन्त्र जतिसुकै कमजोर किन नहोस् खेल क्षेत्रमा खासै मन्दी देखिँदैन । नेपालको सन्दर्भमा पहिलो पटक एनपिएल खेल उद्योगको रूपमा उदाएको छ । एनपिएल नेपालको सबैभन्दा ठुलो बजेटको खेलकुद हो । क्यानले दोस्रो संस्करणको ब्रान्ड भ्यालु दुई अर्बमाथि पु¥याउने लक्ष्य राखेको छ ।

 विगतमा एनपिएलको एक अर्बभन्दा बढीको कारोबार भएको थियो । क्यानले दोस्रो संस्करणको एनपिएलमा ४० करोड रुपियाँभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरेको छ । क्यानका अनुसार यस पटक प्रायोजक, टिम दर्ता, प्रसारण अधिकार (ओटिटी, टिभी), टिकट बिक्री, ब्रोडकास्टिङ, प्रायोजन, टिमको दर्ता शुल्कलगायतको शीर्षकबाट ४० करोडभन्दा बढी आम्दानी हुने छ । नेपालमा फुटबल, भलिबल, कबड्डीमा पनि फ्रेन्चाई लिग हुने गर्छ । यी खेलका एनपिएलको यस सफलताले अन्य खेललाई पनि प्रेरित गर्न सक्छ । एनपिएलले खेल व्यावसायिक हुन सरकार, प्रायोजन, दर्शक, पूर्वाधार र ब्रोडकास्टिङ प्रमुख पक्ष हुन् भन्ने अब्बल अनुभव दिएको छ । यति हुँदाहुँदै पनि कमजोरी पनि छन् । सुधार गर्नुपर्ने क्षेत्र छन् । गत वर्षको एनपिएलमा आर्थिक अनिमियतताको उजुरी नै प¥यो । त्यस उजुरीको छानबिन अझै सकिएको छैन । दोस्रो संस्करणमा पनि बोलपत्र विवादित बनेको छ । सरोकारवालाले रोक्दारोक्दै पनि न कतिपय कम्पनीको विज्ञापन गरेको छ । चिसो मौसममा राति क्रिकेट खेलाउनु कतिको उपयुक्त हुन्छ भन्ने अर्को बहस छ । क्रिकेटरहरूले पनि राति खेल्नु चिसो भएको प्रतिक्रिया दिएका छन् । यस्ता कतिपय कमजोरी हटाउँदा एनपिएल महामहोत्सवको नयाँ उचाइमा पुग्न सक्ने थियो । आउँदा दिनमा सबै खालका कमजोरी हटाउँदै एनपिएललाई राष्ट्रिय गौरवको महामहोत्सव बनाउने अवसर छ ।