तिलाचन पाण्डे
तम्घास(गुल्मी), मङ्सिर ६ गते । गुल्मीमा देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमूना तीन मुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारीक रुपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।
गुल्मी, स्याङजा र पाल्पाको सङगम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा तीन जिल्लालाई जोड्ने गरी देशकै नमुना झोलुङ्गे पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । २०७१ साल असार १० गते तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँबाटो, रुबिना, मना जेबी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रीज डिभिजन पुल्चोकबिच सम्झौता भएको थियो । तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण व्यवसायीहरुको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको बताउनुभयो । उहाँहरुको आन्तरिक विवाद समाधान नभएसम्मका लागि हस्तान्तरणको प्रक्रिया रोकिएको उहाँको भनाइ छ । कार्यालयको तर्फबाट करिव ४० प्रतिशत रकम पनि भुक्तान हुन बाँकी रहेको कार्यालयले जनाएको छ । तीन वर्ष पहिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचार संहिताका कारण उक्त कार्य रोकिएको थियोे ।

देशकै नमुना तीन मुखे पुललाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ । तीन जिल्लाका तीनवटै स्थनीय तहहरुसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गर्ने गरी आफूहरु लागेको कार्यालयले जनाएको छ । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका एक रिडी, स्याङ्जाको कालीगण्डकी एक कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ । कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दूरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दूरी रहेको छ ।
उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानहरुबाट यहाँ आउने गरेको स्थानीय चुरामणी तिमिल्सिनाले बताउनुभयो । विशेष गरी नयाँ वर्ष, असारे ठुला एकादशी, हरिबोधनी एकादशी र मकरसङ्क्रान्तिको समयमा पुल अवलोकन र भिडियो बनाउनेहरुको घुँइचो लाग्ने गरेको उहाँको भनाइ छ ।
तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेल र गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले उक्त पुलको शिलन्यास गर्नुभएको थियो ।