• ६ जेठ २०८१, आइतबार

मुस्ताङको लोमन्थाङमा एमाले विजयी

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ३१ गते ।
मुस्ताङको चीनसँग सिमाना जोडिएको लोमन्थाङ गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष जितेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडा तथा पालिका अध्यक्ष–उपाध्यक्ष सबै जितेको लोमन्थाङमा यसपटक बहुमत सदस्यसहित पालिका एमालेले कब्जा गरेको हो । गत निर्वाचनमा २७ पदका लागि भएको निर्वाचनमा एक पद एमालेले जितेको थियो भने अन्य सबै काँग्रेसले जित हासिल गरेको थियो ।

लोमन्थाङ गाउँपालिकाको अध्यक्षमा एमालेका टसी न्हर्वु गुरुङले ६६८ र उपाध्यक्षमा छ्युमी बिष्ट गुरुङले ६३२ मत हासिल गरेर विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका तर्फबाट अध्यक्षमा टसी गुरुङले ५१४ र उपाध्यक्षमा छिरिङ ढोका गुरुङले ५२९ मत प्राप्त गर्नुभएको छ ।

मुस्ताङको चार वटा स्थानीय तहको अन्तिम परीणाम आउँदा एमाले तीन र काँग्रेसले एक स्थानीय तहको प्रमुख उपप्रमुख जितेका छन् ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका र लोघेकर दामोडर कुण्ड गाउँपालिकामा एमालेले प्रमुख उपप्रमुख जितेको छ भने घरपझोङ गाउँपालिकामा काँग्रेसले प्रमुख उपप्रमुख जितेको छ ।

गएको स्थानीय तह निर्वाचनमा लोमन्थाङ, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका कांग्रेसले जितेको थियो भने लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अहिले बिजयी भएका उम्मेदवार नै स्वतन्त्र उम्मेदवारका रुपमा विजयी हुनुभएको थियो ।

अहिले सार्वजनिक भएको परिणाम अनुसार मुस्ताङमा अघिल्लो निर्वाचन जित हासील गरेका २ पालिका कांग्रेसले गुमाएको छ भने एमालेले पहिला जितेको १ गुमाउँदै गर्दा अन्य दुई थप जित हासील गरेको छ ।

शनिबार दिउँसो घोषणा भएको अन्तिम परिणाम अनुसार बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित पाँचमध्ये ४ वडा एमालेले जितेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समीर थापाले बताउनुभयो ।

थापाका अनुसार एमालेका तर्फबाट अध्यक्ष रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजय हुँदा कांग्रेसका आङजेन गुरुङले ५७७ मत पाउनुभएको छ । उपाध्यक्षमा एमालेकी दिकी गुरुङ ७४९ मतसहित विजयी हुँदा काँग्रेसकी धेवआङवो गुरुङले ६७७ मत पाउनुभएको छ ।

अध्यक्षमा २९० एवम् उपाध्यक्षमा ७२ मतान्तरले जित हार भएको सूचना अधिकारी थापाले बताउनुभयो ।

अघिल्लो स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको घरपझोङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचनले ७६० मत र उपाध्यक्षमा जमुना थापामगरले ६९३ मत प्राप्त गरी विजय हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सञ्जयकुमार थकालीको ७५८ र उपाध्यक्ष मिमकुमारी शेरचनको ६१८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका कमला लालचनले १८४ मत प्राप्त गर्नुभएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल बिष्टले ६८९ र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङले ६४२ मतसहित विजयी हुनुभएको छ । अध्यक्षमा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा कांग्रेसका लक्ष्मी गुरुङले २२५ मत सहित निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो ।