काठमाडौँ, असोज १९ गते । अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् । मुलुकले केही समययता पहिरोका कारण जनधनको ठुलो क्षति बेहोरिरहेको छ । हरेक गाउँ र टोललाई मुख्य सडक वा राजमार्गसँग जोड्न सुरु गरिएको ‘डोजरे विकास’ का कारण पहिरो आई राजमार्गहरू क्षतविक्षत हुन थालेका छन् ।
राजमार्गसँग जोडिएका गाउँ र टोलमा अव्यवस्थित सडकका कारण मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो बन्न लागेका छन् । त्यसै कारण सडकमा पहिरो जाने, भासिने र अवरुद्ध हुने समस्याले जनधनको क्षति पनि हुने गरेको छ ।
राजमार्गसम्म पहुँचमार्गका रूपमा गाउँ र टोलमा निर्माण भइरहेका सडक नै वर्षाको समयमा खहरे खोला बनी लेदो र गेग्य्रानसहित बग्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल खण्ड, बिपी राजमार्ग, पुष्पलाल राजमार्ग (मध्य पहाडी लोकमार्ग), अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणगढ–मुग्लिङ सडकखण्डलगायत राजमार्ग नराम्ररी बिग्रन थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै अध्ययनबिना केही वर्षयता गाउँटोलमा निर्माण भइरहेका सडकहरू तथा ती सडकहरूलाई राजमार्ग तथा मुख्य सडकसँग जोड्ने गतिविधिका कारण अहिले मुलुकभरिका राजमार्ग तथा सडकहरू पहिरोले थिलोथिलो बन्न पुगेको बताउनुभयो । पहुँचमार्गका रूपमा निर्माण भइरहेका सडकका कारण पहिरो गई मुलुकभरका राजमार्ग क्षतविक्षत बनाएको उहाँको भनाइ छ । पहुँचमार्गका रूपमा गाउँटोलमा निर्माण भइरहेका सडक कारण माथिबाट गेग्य्रान र लेदोसहित पहिरो आउने गरेको उहाँले बताउनुभयो । सचिव शर्माका अनुसार माथिबाट आउने पहिरोका कारण सम्बन्धित ठाउँको ‘क्याचमेन्ट’ मा नै परिवर्तन आउने गरेको छ ।
पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्द इस्तियाक राईले भौगार्भिक अध्ययनबिना स्थानीय तहमार्फत गाउँटोलमा जथाभाबी भइरहेको सडक निर्माण र ती सडकहरूलाई जसरी पनि मुख्य सडक र राजमार्गहरूसँग जोडिने प्रवृत्तिले पहिरोको समस्या दिनका दिन बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय सरकारमार्फत हुने गरेको सडकको निर्माण आवश्यक अध्ययन गरेर मात्र गर्ने गरिन्छ तर स्थानीय तह र कतिपय ठाउँमा प्रदेश सरकारबाट पनि निर्माण गरिने सडकहरूका लागि प्रायः अध्ययन गरिएको पाइँदैन । जहाँ पायो त्यहीँ डोजर चलाएर ट्र्याक खोलिएको र सडक निर्माण गरिएको पाइएको छ । जसका कारण राजमार्गहरूमा पहिरोको समस्या बढ्दै गएको छ ।” उहाँले मुख्य सडक र राजमार्गमा हुने गरेको क्षति रोक्न बेग्लै कानुनको आवश्यकतासमेत औँल्याउनुभयो ।
पूर्वमन्त्री राईले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहँदा स्थानीय तहद्वारा अध्ययनबिना सडक निर्माणमा रोक लगाइए पनि स्थानीय तहले कानुनी रूपमा आफ्नो क्षेत्राधिकार भएको भन्दै जथाभाबी सडक निर्माण रोक्न नसकिएको स्मरण गर्नुभयो । त्यसै गरी अनियन्त्रित रूपमा डाँडाकाँडामा रहेका रुखहरूको कटान पनि पहिरोको कारण रहेको उहाँको भनाइ छ । पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले अध्ययनबिना स्थानीय सडकहरू जथाभाबी निर्माण गर्दा पहिरो निम्तिएको बताउनुभयो । सडकसँगै विभिन्न गाउँटोलमा निर्माण भइरहेका पहुँच मार्गहरू पहिरोको मुख्य कारण भएको उहाँको भनाइ छ । उहाँले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना नै यस प्रकारका टोले सडक निर्माण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनबिना गरिने विकासका कारण पहिरो आउने, जमिन भासिनेलगायतका समस्या आउँछन् । मूल सडकमा क्षति पुर्याएर शाखा सडक निर्माणको कुनै अर्थ हुन सक्दैन ।”
ऐनको उल्लङ्घन
सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग वा मुख्य सडकसँग जोडिएर कुनै संरचना निर्माण गर्नु परेमा तथा पहुँच सडक निर्माण गर्नुपूर्व सडक विभागसँग सहमति लिनुपर्ने हुन्छ तर अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यस्तो सहमति लिएका छैनन् ।
ऐनको उल्लङ्घन गरेको अवस्थामा कारबाही गर्ने प्रावधान रहे पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन । राज्यको अर्को निकायले नै बजेट विनियोजन गरेर यसरी राजमार्गलाई क्षति पुग्ने गरी काम गर्छ भने सडक विभागले कसलाई कारबाही गर्ने भन्ने प्रश्न सडक विभागका पूर्वमहानिर्देशक थापाले गर्नुभयो ।