शंकर केसी
सल्यान, वैशाख १० गते । सल्यानको शारदा नगरपालिकामा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान बिहीबारदेखि सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभर वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिए पनि शारदा नगरपालिकाले स्थानीय आवश्यकता अनुसार समयतालिका परिमार्जन गरेको हो।
नगर शिक्षा समितिको बैठकले केन्द्र सरकारले तय गरेको तालिकामा केही हेरफेर गर्दै भर्ना प्रक्रिया पाँच दिन अगाडि नै सुरु गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले सूचना जारी गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आज वैशाख १० गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न अनुरोध गर्नुभएको छ।
यद्यपि पठनपाठन भने केन्द्रले तोकेको मितिअनुसार वैशाख २१ गतेदेखि नै सुरु हुने बताइएको छ। यस निर्णयले समयमै विद्यार्थी भर्ना सम्पन्न गरी शैक्षिक सत्र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
नगरपालिकाका अनुसार विगतका वर्षहरूमा भर्ना प्रक्रियामा ढिलाइ हुँदा पठनपाठन प्रभावित हुने गरेको अनुभवका आधारमा यस वर्ष भर्ना अभियान छिटो सुरु गर्न लागिएको हो। प्रारम्भिक तयारी समयमै पूरा हुँदा विद्यालय व्यवस्थापन, शिक्षक परिचालन तथा शैक्षिक सामग्री व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।