• २० असोज २०८१, आइतबार

बाटोको अवस्था हेरी टिकट काट्न आग्रह

blog

काठमाडौँ, असोज १६ गते । बाढीपहिरोले राजमार्ग अवरुद्ध भई सवारी सञ्चालन सहज हुन नसकेपछि दसैँका लागि अग्रिम टिकट काट्नेमा उत्साह देखिएको छैन । सडक भत्किएकाले यात्रा जोखिमपूर्ण मात्र नभई ट्राफिक जाममा घन्टौँ परिने र थप वर्षा हुन सक्ने सम्भावना भएकाले पनि टिकट काट्नेमा उत्साह नदेखिएको हो ।  

जसका कारण अग्रिम टिकट थप गर्नेभन्दा पनि टिकट काटिसकेकालाई गन्तव्यमा पुर्‍याउने सुनिश्चत भएपछि मात्र थप टिकट बुकिङ गरिने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच मङ्गलबार भएको बैठकले टिकट काटिसकेकालाई प्राथमिकता दिने र बाँकी टिकटका लागि परिस्थिति अनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।

थप अग्रिम टिकट बुकिङका लागि गृह मन्त्रालयको विपत्सम्बन्धी सूचनालाई आधार मानी बाटो सुनिश्चित हेरेर काट्न अनुरोध गरिएको छ । तत्काललाई वैकल्पिक मार्गको पहिचान गरी ठुला र साना सवारीको व्यवस्थापन गर्ने, रेड जोनमा परेका सडकमा हेभी इक्युपमेन्ट रोक लगाउने र काठमाडौँदेखि नारायणगढसम्मको दुरी उज्यालोमै पार गर्ने गरी सवारी व्यवस्थापन गर्नेलगायतका निर्णय भएको छ । 

दसैँलगायतका चाडपर्वमा काठमाडौँबाट बाहिर जाने यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिए पनि यस पटक भने विगतको तुलनामा निक्कै कम टिकट काटिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । असोज १२ गते पहिलो दिन करिब आठ हजार, १३ गते ११ हजार ५९० जना, १४ गते चार हजार ८०५ जना र १५ गते दुई हजार १५० जनाले अग्रिम टिकट काटेको नयाँ बसपार्क प्रहरी विटले जनाएको छ । हालसम्म जम्मा २६ हजार ५४५ जनाले टिकट काटिएको छ ।  

तीन दिनमा काटिएको टिकट विगतको तुलनामा निक्कै कम भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । 

यात्रुको उत्साह नहुँदा र सडकको अवस्था दयनीय भएकाले महासङ्घले अग्रिम टिकक बुकिङ स्थगित गर्ने सोच बनाएको छ । महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “कुनै पनि गाडी समयमा काठमाडौँ ल्याउन सक्ने अवस्था छैन । बुकिङ गर्ने तर गाडी उपलब्ध भएन भने कसरी सेवा दिने ?” महासङ्घका अनुसार हरेक वर्ष दसैँ मनाउनका लागि काठमाडौँबाट १५ लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।