काठमाडौँ, फागुन १० गते । प्रतिनिधि सभामा यातायात व्यवसायीको प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवार बनेका व्यवसायीले यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार भएका करिब आधा दर्जन व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय, भरपर्दो र प्रविधियुक्त बनाउने प्रतिबद्धता गरेका छन् ।
प्रमुख दलमध्ये नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मात्रै प्रत्यक्षतर्फ यातायात व्यवसायी उम्मेदवार बन्नुभएको छ । कांग्रेसले तीन जना र रास्वपाले एक जना यातायात व्यवसायीलाई टिकट दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले भने प्रत्यक्षमा यातायात व्यवसायीलाई उम्मेदवार बनाएका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर कैलाली क्षेत्र नम्बर–२ बाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै महासङ्घ कर्णाली प्रदेश संयोजक विष्णुबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर– १, गण्डकी यातायातका संरक्षक भागवतप्रकाश मल्ल स्याङ्जा क्षेत्र नम्बर–२ र काँक्रेविहार यातायातका अध्यक्ष रमेशकुमार सापकोटा चुनावी मैदानमा हुनुहुन्छ । सापकोटा रास्वपाका उम्मेदवार हुनुहुन्छ भने अन्य तीन जना नेपाली कांग्रेसबाट हुनुहुन्छ । महासङ्घका अध्यक्ष स्वाँर कैलाली–२ मा एमालेका सूर्यबहादुर थापा, नेकपाका नन्दबहादुर साउँद, नागरिक उन्मुक्ति पार्टीका कालु डगौरा थारू र रास्वपाका केपी खनाल लगायतसँग प्रतिस्पर्धामा हुनुहुन्छ । स्वाँरले भन्नुभयो, “सार्वजनिक यातायात क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छु । यातायात क्षेत्रको विकास र विस्तारका साथै प्रविधिमैत्री यातायात सञ्चालन र यातायात मजदुरको रोजगारीको सुनिश्चित, सेवा सुविधामा जोड दिएको छु । नीतिगत सुधारमा मैले पहल गर्ने हो ।”
मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष खड्का सुर्खेत–१ मा एमालेका ध्रुवकुमार शाही, नेकपाका जितबहादुर राना र रास्वपाका टेकबहादुर सिंह ठकुरीसँग मुख्य प्रतिस्पर्धी गर्दै हुनुहुन्छ । त्यस्तै सुर्खेत–२ मा काँक्रेविहार यातायातका अध्यक्ष सापकोटाले एमालेका कुलमणि देवकोटा, कांग्रेसका नारायणकुमार कोइराला र नेकपाका झकबहादुर मल्ललगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गण्डकी यातायातका संरक्षक मल्लसँगै स्याङ्जा–२ मा एमालेका खिमबहादुर थापा, नेकपाका पदमबहादुर विक र रास्वपाबाट झविलाल डुम्रेसँग प्रतिस्पर्धामा हुनुहुन्छ । पेसागत सुरक्षा र नीतिगत सुधारका लागि व्यवसायीकै प्रतिनिधित्व आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको मल्लले बताउनुभयो ।