• ११ असोज २०८१, शुक्रबार

शुभकालिकाको एक वर्षको बेरुजु छ करोड ७२ लाख

blog

शुभकालिका गाउँपालिकाको कार्यालय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  

कालीकोट, असोज ९ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले एक वर्षमा छ करोड बेरुजु निकालेको पाइएको छ । आर्थिक वर्ष २०७९-०८० मा छ करोड ७२ लाख ६८ हजार बेरुजु निकालेको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा उक्त बेरुजु कायम भएको उल्लेख छ । एक आर्थिक वर्षमा शुभकालिकाले ५३ लाख १४ हजार रकम असुल उपर गर्नु पर्ने उल्लेख छ । ९५ लाख ३० हजारको कागजपत्र पेस गर्नु पर्ने छ भने नियमित गर्नु पर्ने पाँच करोड १७ लाख ६९ हजार रहेको छ । 

यस्तै पेस्की बाँकी छ लाख ५५ हजार रहेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ । गत वर्षको ११ करोड ७ लाख २१ हजार सहित शुभकालिकाको जम्मा बेरुजु रकम १७ करोड ७९ लाख ८९ हजार रहेको छ । 

शुभकालिका गाउँपालिकालाई ५३ लाख १४ हजार रकम भुक्तानी भइसकेको असुल उपर गर्नु पर्ने चुनौती थपिएको छ । गाउँपालिकाका सूचना अधिकारी नवराज चौलागाईं, कर्मचारी तीलबहादुर शाही र रेशम शाहीबाट ५१ हजार ४८० रुपियाँ असुल उपर गर्न भनेको छ । महालेखा परीक्षकको कार्यालयले विभिन्न कर्मचारी र पसलमा भुक्तानी भएको ५७ हजार १८६ रुपियाँ पनि असुल गर्न भनेको छ । तत्कालीन शुभकालिका एफ एम रेडियोका स्टेसन म्यानेजर विरेन्द आचार्यबाट एक लाख २१ हजार र स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जयबहादुर महतराबाट ४८ हजार गरेर जम्मा जम्मा एक लाख ६९ हजार रुपियाँ असुल उपर गर्न भनेको छ । यिनीहरूले भ्रमण खर्च बापत रकम खर्च गरेकाले जिम्मेवार बनाउँदै असुल उपर गर्न भनेको छ । 

गाउँपालिकाकै पशु भेट्नरी शाखाका कर्मचारी प्रकाश विकबाट १५ हजार तीन सय असुल उपर गर्न महालेखाले लेखेको छ । पोषणमैत्री गाउँपालिका घोषणा गर्दा ६९ हजार ८९ रुपियाँ बढी भुक्तानी भएकाले तत्काल उक्त रकम असुल उपर गर्न भनिएको छ । गाउँपालिकाले होचुवाको तालमा भुक्तानी दिएकाले यस्ता कार्य आगामी दिनमा रोक्न पनि सुझाव दिएको छ । गाउँपालिकाका एक जना कर्मचारीले विभिन्न समयमा भ्रमण गरेको भनी बिल भरपाई राखेर भुक्तानी लिएको रकम रु ७६ हजार ९६ हजार रुपियाँ असुल उपर गर्न भनेको छ । ती कर्मचारीले प्लेन चढेको बिल हालेपनि वोडिङ पास नभएको र टिकेटको मिति पनि फरक परेकाले सबै मिलाएको उल्लेख छ । 

कालीका स्वावलम्बन कृषि सहकारी संस्थासँग पालिकाले साझेदार गरेको रकममा ९५ हजार बढी भुक्तानी भएकाले उक्त रकम पनि असुल उपर गर्न भनेको छ । गाउँपालिकाले पोषण संवेदनशील कार्यक्रममा पनि तीन लाख खर्च गरेको हुँदा उक्त रकम पनि पालिकाको खातामा असुल उपर गर्न निर्देशन गरेको छ । गाउँपालिकाले होचुवाको भरमा भुक्तानी दिने  गरेको छ ।

पाँच वटा फमलाई १९ लाख भुक्तानी 

गाउँपालिकाले सबै भन्दा बढी रकम बाख्रा पालन समूह कृषि समूहलाई होचुवाको भरमा अनुदान दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकामा रहेको पाँच वटा बाख्रा र कृषि फमलाई १९ लाख ८७ हजार पाँच सय रुपियाँ भुक्तानी गरेकाले उक्त रकम असुल उपर गर्न भनेको छ । उपाध्याय महिला विशेष कार्यक्रममा २६ लाख ५८ हजार ७८८ रुपियाँ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ । यति धेरै रकम असुल उपर गर्न गाउँपालिकाले कुनै पहल गरेको छैन । 

कर्मचारीले चासो दिँदैन असुल उपरमा

प्राय स्थानीय तहका कर्मचारीले आफ्नो पालामा रहेको बेरुजु असुलमा कुनै पनि चासो नदिने गरेको पाइएको छ । शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले आफू धेरै पछि आएकाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले आफू गाउँपालिकामै रहेमा अब बेरुजु बारे कार्यपालिकामा छलफल गर्ने बताउनुभयो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जस्तो व्यक्तिले अहिले सम्म बेरुजु असुलमा कुनै चासो दिएका छैनन् । उहाँले प्रतिवेदन पहिला नै आएपनि आफूलाई खासै चासोको विषय नभएको बताउनुभयो । गाउँपालिका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी नवराज चौलागाईँले आफूलाई पनि जानकारी नभएको बताउनुभयो । उहाँले पुराना र वर्तमान कार्यालय प्रमुखसँग समन्वय गरेर मात्र जानकारी दिन सकिने बताउनुभयो ।