गोरखापत्र अनलाइन
काठमाडौँ, पुस १२ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिबार यहाँ सम्पन्न भएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यक्रमको उदघाटन गर्नु भयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सहकारीको मुख्य उद्देश्य नै शेयर सदस्यहरूको कल्याण र सहकार्य गरी एकता कायम गर्ने रहेको बताउनु भयो । गोरखापत्र कर्मचारीलाई सहकारीले राम्रो सहयोग गरिरहेको बताउँदै उहाँले सबै कर्मचारीलाई एकताबद्ध हुन आग्रह गर्नु भयो ।

सहकारी मुलुकको अर्थतन्त्रको आधारभूत मेरुदण्ड भएको बताउँदै उहाँले पारिवारिक अर्थतन्त्रसँग सहकारी जोडिएको चर्चा गर्नु भयो । गोरखापत्रको सहकारी कर्मचारीको सुख, दुःखको साथी भएको अनुभूति गराउन आवश्यक रहेको उहाँको भनाइ छ । नेपालमा ३० हजार सहकारी कार्यरत रहेको भए पनि केही सहकारीले शेयर सदस्यहरूलाई राम्रो सुविधा प्रदान गरिरहेको उहाँले बताउनु भयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सुरुवाती चरणमा गोरखापत्र सहकारीलाई समस्या भएको भए पनि अहिले निरन्तर फाइदामा उन्मुख रहेको बताउनु भयो । सहकारी समानरूपमा व्यवहार गर्ने संस्था भएको बताउँदै उहाँले सहकारीको आयआर्जनमा अझै ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नन्दलाल तिवारीले गर्नु भएको थियो ।
सात विद्यार्थी सम्मानित
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा कर्मचारीका छोराछोरीबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने सात जना छात्रछात्रालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा ईशा बराल (३.९६ जिपिए), कृतिस्मा सापकोटा (३.९१ जिपिए), प्रतीक घिमिरे (३.८७ जिपिए), समृद्ध न्यौपाने (३.८६ जिपिए), प्राप्ती पौडेल (३.८६ जिपिए), विदुसी खनाल (३.८४ जिपिए), र सदिक्षा सापकोटा (३.५४) जिपिए प्राप्त गर्नु भएको छ । उहाँहरू सबैलाई नगद ३ हजार पाँच सय रुपियाँसहित सम्मानपत्रले सम्मानित गरिएको छ ।

सहकारीका अध्यक्ष पुष्पराज जोशीका अनुसार सहकारीले यस आर्थिक वर्षको मुनाफा १ लाख ८४ हजार ३७९ रुपियाँ भएको बताउनु भयो । गत वर्षको मुनाफा १ लाख ७५ हजार ३४३ रुपियाँ ६४ पैसा भएको उहाँले बताउनु भयो । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्ममा सदस्यहरूबाट १ करोड ६३ लाख ९६ हजार निक्षेप सङ्कलन गरी १ करोड ५७ लाख २६ हजार ऋण लगानी गरिएको उहाँले बताउनु भयो ।
संस्थाले आकस्मिक ऋण बापत २ लाख ९० हजार रुपियाँ शेयर सदस्यहरूलाई उपलब्ध गराउँदै आएको सहकारीका कोषाध्यक्ष माया आचार्यले बताउनु भयो । सहकारीमा ३ सय ५० जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा गोरखापत्र सञ्चालक समितिका सदस्य तथा अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, प्रशासन विभाग प्रमुख ओमप्रकाश भुषालसहित विभागीय प्रमुखहरूसहित शेयर सदस्यहरूको सहभागिता थियो ।
