• ११ असोज २०८१, शुक्रबार

कृषि कर्मबाट युवाको लोभलाग्दो आम्दानी

blog

हरिनास गाउँपालिका –५, समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीका बाख्रा । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ९ गते । गाउँका युवाहरू दैनिक विदेश जानेक्रम बढिरहँदा यहाँका एक युवा विदेश जानेलाई चुनौती दिँदै पशु तथा फलफूल खेतीलाई मुख्य पेसा बनाउनु भएको छ । 

हरिनास गाउँपालिका–५, समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रा, केरा तथा सुन्तला खेतीबाट मनग्य आम्दानी गर्नु भएको हो । परम्परागत रूपमा बाबु बाजेले गरेको बाख्रा पालनलाई विस्थापित गरेर २०७४ सालमा वडा सदस्य बनेसँगै क्षेत्रीले घरमा भएका खरी जातका आठवटा पाठापाठी र बोयर जातका ८५ प्रतिशत बोका र माउ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको हो । 

तीन वर्ष पहिले जिके पशुपन्क्षी तथा कृषि फार्म दर्ता गर्नुभएका क्षेत्रीको बाख्रापालन थालेको छ । फार्ममा ७४ वटा बाख्रा रहेका छन् । जिके फार्ममा १२ बोका र तीन वटा खसी रहेका छन् । अन्य माउ बाख्रा छन् । 

बाख्रा पाल्नका लागि व्यवस्थित खोर बनाउनुभएको छ भने साना तथा ठुला फरक फरक ठाउँमा राख्ने गर्नुभएको छ । बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा खर्च कटाएर दुई लाख ५० हजार रुपियाँ आम्दानी गर्ने गरेको क्षेत्रीले बताउनुभयो । 

बाख्रापालनका लागि नेपियर, इपिलीपी घाँस लगाउनु भएका क्षेत्रीले दाना भने मकै, चोकर किनेर खुवाउने गर्नुभएको छ । आफैले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको बताउँदै क्षेत्रीले फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनमा १५ लाख लगानी पुगेको बताउनुभयो । 

अहिले व्यवसाय राम्रो हुँदै गएको बताउँदै क्षेत्रीले उत्पादन गर्न सके बजारको समस्या समेत रहेको बताउनुभयो । 


हजार बोट केरा 

हजुर बुबाले एक बोट हजारी केराबाट सुरु भएको खेती अहिले एक हजार बोटमा पुगेको छ । पछिल्लो सात वर्षमा केरा खेतीबाट समेत मनग्य आम्दानी गर्न थालेको क्षेत्रीले बताउनुभयो । अहिले १६ रोपनी जग्गामा केरा खेती गर्नुभएको छ । वार्षिक डेढ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । 

यस वर्ष भने हावाले दुईसय ९२ बोट हावाले ढलाएको र आम्दानी केही कम हुने क्षेत्रीले बताउनुभयो । क्षेत्रीले विगतमा २५ बोट सुन्तला रहेकोमा अहिले ४५० बोट १० रोपनी जग्गामा लगाउनु भएको छ । कलमी सुन्तला लगाउनुभएको छ । अबको पाँच वर्षमा पूर्ण रूपमा फल दिने क्षेत्रीले बताउनुभयो । 

बाख्रा, केरा र सुन्तला, भैँसीको घ्यूबाट राम्रो आम्दानी गरेको बताउँदै क्षेत्रीले काममा ७७ वर्षीय बुवा मानबहादुर र ३२ वर्षीय श्रीमतीले सहयोग गरेको बताउनुभयो । मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति नहुने र आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्ने क्षेत्रीले बताउनुभयो । 

उहाँले सरकारी अनुदान हालसम्म लिनु भएको छैन । रकम अनुदान दिँदा दुरुपयोग हुने गरेको बताउनुभयो । क्षेत्रीले बाख्रा, केरा, सुन्तला र भैँसीको घ्यू बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किन्नु भएको छ । 

अहिले सबै खर्च कटाएर पाँच लाख रुपियाँ बचाउनु भएका क्षेत्रीले अबको पाँच वर्ष पश्चात् सबै खर्च कटाएर वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य लिनु भएको छ ।